लण्डन । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी, बाग्लुङ र पर्वत क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। उनीहरूले पछिल्लो बाढीबाट भएको क्षति केही वर्षअघि भोटेकोशी क्षेत्रमा आएको बाढीको झल्को दिने खालको रहेको बताएका छन्।
शनिबार र आइतबार आएको बाढी तथा पहिरोबाट सडक, पुल, विद्यालय, खानेपानी, सञ्चार सञ्जाल तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको जनप्रतिनिधिहरूले जानकारी दिएका छन्। उनीहरूले पछिल्लो प्राकृतिक विपद्को कारणबारे जलवायु परिवर्तनसमेत एक प्रमुख कारक हुनसक्ने बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सोमबार आयोजना गरेको ‘उद्धार तथा राहत वितरणमा प्रवासी नेपालीको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरेका थिए।
कार्यक्रममा बाग्लुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बाग्लुङका आठवटा पालिका बाढी तथा पहिरोबाट प्रभावित भएको जानकारी दिए। उनका अनुसार निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने ९६ घरमा क्षति पुगेको छ। बाढीका कारण कतिपय क्षेत्रमा सञ्चार सम्पर्कसमेत विच्छेद भएको उनले बताए।
त्यस्तै, तमानखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको र १० वटा घर भत्किएको जानकारी दिइएको छ। बडिगाड गाउँपालिकामा करिब २०० घरका छाना उड्नुका साथै अन्य क्षति भएको छ भने ताराखोला गाउँपालिकामा तीन जनाको मृत्यु भएको श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार कालीगण्डकी नदी आसपासका बस्तीमा जाने करिब ३० वटा अस्थायी सडकसमेत भत्किएका छन्। पर्वत र बाग्लुङ जोड्ने मालढुंगा पुलमा समेत क्षति पुगेको उनले जानकारी दिए।
एनआरएनएको १ करोड सहयोग घोषणा
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माले नेपालमा प्राकृतिक विपद् पर्दा विदेशमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै कालीगण्डकी क्षेत्रमा बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि १ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरे।
उनले तत्काल ५० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराउने र आवश्यकताअनुसार थप ५० लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराउन सकिने बताए।
डा. शर्माले म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना), अन्तर्राष्ट्रिय पर्वत समाज, बाग्लुङ समाज तथा गल्कोट समाजलगायतका संस्थासँग सहकार्य गरी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि संयुक्त रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए।
एनआरएनएले सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी तत्काल राहत आवश्यक भएका स्थानमा राहत सामग्री पठाउने तयारी गरेको जनाएको छ।
स्थानीय जनप्रतिनिधिदेखि सांसदसम्मको सहभागिता
कार्यक्रममा बाग्लुङ र म्याग्दीका प्रमुख जिल्ला अधिकारी, प्रतिनिधिसभा सांसदहरू सोम शर्मा, सुनील खड्का र बलावती शर्मा तथा नेकपा एमालेका नेता डा. सूर्य पाठकलगायतको उपस्थिति थियो।
त्यस्तै, बाग्लुङ, पर्वतको फलेवास, जलजला तथा अन्नपूर्ण नगरपालिकालगायत म्याग्दी जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको समेत बाक्लो उपस्थिति थियो। एनआरएनए उपाध्यक्षहरू टीका गुरुङ र मनोज गोर्खाली तथा महासचिव डा. चिरञ्जीवी खड्का, दधि आचार्य लगायतले कार्यक्रममा आफ्ना धारणा राखेका थिए।