ताजा खबर

ब्रिटिस गोर्खाको वंशजको नागरिकता निरन्तरताबारे गृह मन्त्रालयमा छलफल

लण्डन । ब्रिटिस गोर्खाहरूले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताको निरन्तरता कायम राख्नुपर्ने मागका सम्बन्धमा गृह मन्त्रालयमा छलफल भएको छ।

ब्रिटिस गोर्खाहरूको वंशजको नेपाली नागरिकता निरन्तरतासम्बन्धी समितिका प्रमुख सल्लाहकार कृष्णबहादुर राईका अनुसार ‘ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान’ (बीजीएनसीसीसी) को प्रतिनिधिमण्डल र गृह मन्त्रालयका पदाधिकारीबीच मङ्गलबार सिंहदरबारमा छलफल भएको हो।

छलफलमा भूपू गोर्खाहरूको प्रतिनिधित्व गर्दै उनीहरूले नेपाल सरकारले बेलायतमा सैनिक सेवाका लागि पठाएका गोर्खाहरूको नेपालमा रहेको सम्पत्तिको हक सुनिश्चित गर्न पनि वंशजको नेपाली नागरिकताको निरन्तरता आवश्यक रहेको बताएका थिए। साथै, गैरआवासीय नेपाली (एनआरएन) नागरिकताजस्तै भूपू गोर्खाहरूको पहिचान स्पष्ट खुल्ने गरी नागरिकता वा परिचयपत्रको व्यवस्था गर्न उनीहरूले माग गरेका थिए।

गृह मन्त्रालयका उपसचिव एवं नागरिकता विभाग प्रमुख उमाकान्त अधिकारीसँग भएको छलफलमा अभियानका कानुनी सल्लाहकार तथा संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (एनएफडीआइएन) का कार्यकारी प्रमुख राम मादेन, अभियान निर्देशक अधिवक्ता योगिता राई, प्रमुख संयोजक (युके–नेपाल) सन्तोष थलङ, प्रमुख सल्लाहकार कृष्णबहादुर राई, युके संयोजक लेफ्टिनेन्ट हरिबहादुर गुरुङ र नेपाल संयोजक फुर्वा गर्जा शेर्पाको सहभागिता थियो।

छलफलको सुरुवात गर्दै प्रमुख संयोजक सन्तोष थलङले ब्रिटिस गोर्खाहरूका लागि वंशजको नेपाली नागरिकताको निरन्तरता किन आवश्यक छ र कुन कानुनी आधारमा यसको व्यवस्था हुनुपर्छ भन्ने विषयमा धारणा राखेका थिए।

प्रमुख सल्लाहकार कृष्णबहादुर राईले उक्त विषयलाई थप स्पष्ट पारेका थिए भने अभियान निर्देशक अधिवक्ता योगिता राईले गोर्खाहरूको ऐतिहासिक पृष्ठभूमि र यससँग सम्बन्धित कानुनी पक्षबारे प्रकाश पारेकी थिइन्।

कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख राम मादेनले गोर्खाहरूका मागलाई अल्पकालीन र दीर्घकालीन गरी दुई चरणमा सम्बोधन गर्नुपर्ने सुझाव दिए। दीर्घकालीन समाधानका लागि संविधान संशोधन आवश्यक रहेको उल्लेख गर्दै उनले तत्कालका लागि प्रशासनिक तथा कानुनी झन्झट हटाउन नागरिकता ऐन संशोधन गरेर भए पनि अल्पकालीन निकास दिनुपर्ने धारणा राखे।

त्यसैगरी, युके संयोजक हरिबहादुर गुरुङ र नेपाल संयोजक फुर्वा गर्जा शेर्पाले नागरिकताको निरन्तरतासम्बन्धी स्पष्ट संवैधानिक तथा कानुनी व्यवस्था नहुँदा गोर्खा र उनीहरूका सन्ततिले भोग्नुपरेका व्यावहारिक कठिनाइबारे उदाहरणसहित ध्यानाकर्षण गराएका थिए।

छलफलमा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले गोर्खाहरूले वंशजको नेपाली नागरिकताको निरन्तरता पाउन सक्ने संवैधानिक तथा कानुनी आधार प्रस्तुत गरे। उनले राज्यले गोर्खाहरूलाई गैरआवासीय नेपाली (एनआरएन) को श्रेणीमा राखेर हेर्न नहुनेमा जोड दिँदै संविधानमै ब्रिटिस गोर्खाहरूका लागि विशेष प्रावधान राखिनुपर्ने बताए।

प्रतिनिधिमण्डलले गोर्खाहरूको परिचयपत्रमा उनीहरूको पहिचान स्पष्ट रूपमा खुलाउन सकेमा भविष्यमा संविधान संशोधनका लागि समेत बलियो आधार तयार हुने निष्कर्ष निकालेको छ।

प्रतिनिधिमण्डलका जिज्ञासाको जवाफ दिँदै उपसचिव एवं विभाग प्रमुख उमाकान्त अधिकारीले दीर्घकालीन समाधानका लागि संविधान संशोधनको विकल्प नरहेको स्वीकार गरे। यसका लागि विभागका तर्फबाट रचनात्मक पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

त्यसैगरी, अल्पकालीन समाधानका रूपमा सरकारले चाँडै विशेष प्रकारको परिचयपत्र जारी गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।

“गैरआवासीय नेपाली नागरिकता नलिएका र राष्ट्रिय परिचयपत्र प्राप्त नगरेका डायस्पोरामा रहेका नेपालीहरूलाई यस परिचयपत्रले राजनीतिक अधिकारबाहेकका सम्पूर्ण सेवा–सुविधा उपभोग गर्ने बाटो खोल्नेछ,” अधिकारीले भने।

उपसचिव अधिकारीको भनाइप्रति प्रतिक्रिया जनाउँदै ब्रिटिस गोर्खा प्रतिनिधिमण्डलले अल्पकालीन समाधानका रूपमा विशेष परिचयपत्र वितरण गरिने भए त्यसमा स्पष्ट रूपमा ‘ब्रिटिस गोर्खा’ उल्लेख हुनुपर्ने सर्त राखेको छ।

– सन्तोष थलङ

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता