ब्रेकिङ न्युज

प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई लिएर चीनले के भन्यो ?

प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण भारतबाट सुरु भएको विषयलाई छिमेकी देश चीनले नेपालको कूटनीतिक रणनीतिमा आएको परिवर्तन भएको बताएको छ । चीनको कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्समा प्रकाशित एक विश्लेषणले शाहको भारत भ्रमणलाई चीनविरोधी कदम नभई नेपाललाई परम्परागत ‘बफर स्टेट’ (मध्यवर्ती राज्य) बाट ‘ब्रिज स्टेट’ (सेतु राज्य) बनाउने प्रयासका रूपमा प्रस्तुत गरेको हो ।

फुदान विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक झाङ जियादोङको उक्त लेखमा शाह सरकारले कूटनीतिलाई दलगत राजनीति र वैचारिक प्रभावबाट मुक्त गर्दै आर्थिक विकास तथा व्यावहारिक सहकार्यमा केन्द्रित गर्न खोजेको उल्लेख छ । उनका अनुसार नेपालले चीन र भारतबिच सन्तुलन मिलाउने पुरानो अभ्यासभन्दा दुवै छिमेकीसँग सहकार्य गरेर आफ्नो भौगोलिक अवस्थालाई विकासको अवसरमा बदल्न खोजेको छ ।

आइतबारदेखि सोमबारसम्म भएको शाहको भारत भ्रमण प्रधानमन्त्री बनेको करिब आठ महिनापछिको पहिलो द्विपक्षीय विदेश भ्रमण थियो । नेपालका नयाँ प्रधानमन्त्रीले पहिलो द्विपक्षीय भ्रमणका लागि भारत रोज्ने पुरानो अभ्यासलाई शाहले पनि निरन्तरता दिएका हुन् । तर यसपटकको भ्रमण छोटो र सीमित कार्यक्रममा केन्द्रित थियो ।

भ्रमणमा औपचारिकताभन्दा आर्थिक तथा व्यावहारिक सहकार्यलाई प्राथमिकता दिइएको थियो । ठुला शक्तिबिच कूटनीतिक सन्तुलन कायम गरेर आर्थिक लाभ लिन खोज्ने साना देशका लागि यस्तो रणनीति चुनौतीपूर्ण हुन सक्ने जियादोङको तर्क छ । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको विषय घरेलु राजनीतिमा प्रवेश गर्दा आन्तरिक विभाजन र अस्थिरता बढ्न सक्छ ।

शाह सरकारले भने परराष्ट्र नीतिलाई दलगत स्वार्थभन्दा राष्ट्रिय विकासका प्राथमिकतासँग जोड्न खोजेको विश्लेषण उनले गरेका छन् । नेपाललाई लामो समयदेखि चीन र भारतबिचको ‘दुई ढुंगाबिचको तरुल’ का रूपमा व्याख्या गरिँदै आएको छ। तर शाह सरकारले यही भौगोलिक अवस्थालाई चुनौतीभन्दा अवसरका रूपमा उपयोग गर्दै नेपाललाई दुई छिमेकी जोड्ने ‘जीवन्त पुल’ बनाउन खोजेको देखिन्छ। यसका लागि दलगत स्वार्थ र प्रतीकात्मक कूटनीतिक सन्तुलनभन्दा व्यावसायिक विज्ञता तथा व्यावहारिक हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

उनले भारतका लागि डा. निश्चलनाथ पाण्डे र चीनका लागि डा. कल्याणराज शर्मालाई राजदूत नियुक्त गरिएको विषयलाई पनि यही रणनीतिको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । दुवै देशका जानकार व्यक्तिलाई राजदूत बनाउनु कूटनीतिलाई घरेलु राजनीतिक खिचातानीबाट अलग राखेर व्यावसायिक आधारमा अघि बढाउने प्रयास भएको उनको टिप्पणी रहेको छ । दुई दिने भ्रमणमा औपचारिक कार्यक्रमभन्दा ऊर्जा, यातायात सञ्जाल, लगानी, शिक्षा, स्वास्थ्य र कृषिमा सहकार्यलाई प्राथमिकता दिइएको थियो ।

सीमा विवादजस्ता संवेदनशील विषयलाई भ्रमणको मुख्य एजेन्डा नबनाउनुलाई झाङले औपचारिकताभन्दा परिणामलाई महत्त्व दिने नीतिसँग जोडेका छन्। भारत भ्रमणपछि पनि नेपालले चीनसँगको सम्बन्धलाई निरन्तरता दिएको छ । अहिले सत्तारुढ रास्वपाका सांसदहरूको जम्बो टोली चीन भ्रमणमा छ । त्यस्तै, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीन सम्मिलित ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव गरेका थिए । यसले तीन देशबिच हिमनदीको निगरानी, तथ्यांक आदानप्रदान र विपद्को पूर्वसूचनाजस्ता क्षेत्रमा सहकार्य गर्ने लक्ष्य राखेको देखिन्छ ।

नेपाललाई भूराजनीतिक मध्यवर्ती अवस्थाबाट व्यावहारिक सहकार्यको पुलमा रूपान्तरण गर्ने योजना अहिले नीतिगत सोचकै चरणमा रहेको पनि उनले स्वीकार गरेका छन् । नेपालको भौगोलिक अवस्था र छिमेकीमाथिको असमान आर्थिक निर्भरता तत्काल हटाउन नसकिने जियादोङको भनाइ छ। यस्तो रणनीति सफल हुन नेपालको आन्तरिक राजनीतिक स्थिरता र कूटनीतिक सहकार्यबाट प्राप्त हुने ठोस उपलब्धि महत्त्वपूर्ण हुने उनको निष्कर्ष छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम