ब्रेकिङ न्युज

हुन्डी कारोबारको स्वरूप फेरिँदै, नियन्त्रणमा चुनौती

काठमाडौं । नेपालमा हुन्डी कारोबारको स्वरूप र माध्यम परिवर्तन हुँदै गएको पाइएको छ । परम्परागत रूपमा रकम मिलान गरेर गरिने यस्तो कारोबारमा पछिल्लो समय औपचारिक बैंकिङ प्रणाली र डिजिटल माध्यमको प्रयोग बढ्न थालेको नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको प्रतिवेदनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआइयू–नेपाल) ले सार्वजनिक गरेको रणनीतिक विश्लेषण प्रतिवेदनले हुन्डी कारोबारमा वित्तीय जोखिम बढ्दै गएको औंल्याउँदै यसको नियन्त्रणका लागि प्रभावकारी निगरानी र समन्वयमा जोड दिएको छ ।

प्रतिवेदनले हुन्डी कारोबारमा नयाँ प्रवृत्ति र डिजिटल माध्यमको प्रयोग बढ्दै गएको पाइएको भन्दै यसका प्रवृत्ति, प्रकार र विधिको विश्लेषण गर्दै यसको नियन्त्रणका लागि आवश्यक उपायहरू सिफारिस गरेको छ ।

वित्तीय जानकारी इकाइका अनुसार हुन्डी कारोबार सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानीको जोखिमसँग जोडिएको छ । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले मानव तथा लागुऔषध तस्करी, भ्रष्टाचार र करछलीजस्ता अपराधबाट आर्जित सम्पत्ति हुन्डीमार्फत शुद्धीकरण हुने तथा आतंककारी गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिम औंल्याएका छन् ।

प्रतिवेदनमा हुन्डी कारोबारमा पहिले द्विपक्षीय हिसाब मिलान तथा मूल्यका आधारमा भुक्तानी मिलाउने विधि प्रयोग हुने गरेकोमा पछिल्लो समय औपचारिक बैंकिङ प्रणाली तथा डिजिटल माध्यमबाट कारोबार गर्ने प्रवृत्ति बढेको उल्लेख छ ।

एफआईयू–नेपालले आफ्नो नयबी प्रणालीमा सन् २०२५ जनवरी २ देखि २०२६ जुलाईसम्म प्राप्त हुन्डीसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको विस्तृत विश्लेषण गरेको जनाएको छ । उक्त विश्लेषणमा २५ देखि ४४ वर्ष उमेर समूहका युवा तथा खुद्रा व्यापार र विप्रेषण कारोबारमा संलग्न एजेन्टहरू हुन्डी कारोबारमा बढी संलग्न हुने गरेको देखिएको छ ।

नेपालमा हुन्डी कारोबारका लागि म्युल–खाताको प्रयोग, नगदको सीमा छल्न रकम टुक्रयाएर जम्मा गर्ने, कानुनी व्यक्तिको प्रयोग, क्रिप्टोकरेन्सीमार्फत कारोबार, नगद ओसारपसार गरी भुक्तानी गर्ने, विप्रेषण कारोबार तथा डिजिटल प्रविधिको प्रयोगजस्ता विधि देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले हुन्डी कारोबार नियन्त्रणका लागि सूचक संस्थाहरू, नियामक तथा सुपरीवेक्षक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र नीति निर्माण तथा समन्वय गर्ने निकायलाई विभिन्न सुझाव दिएको छ । सुझावमा शंकास्पद कारोबार प्रतिवेदनको गुणस्तर सुधार, जोखिममा आधारित निगरानी, अन्तरनिकाय समन्वय, प्राविधिक क्षमता अभिवृद्धि तथा जनचेतना विस्तारलाई प्राथमिकता दिइएको छ ।

एफआईयू–नेपालले हुन्डी कारोबारको प्रवृत्ति र विधिको विश्लेषणमार्फत सम्बन्धित निकायलाई जोखिम पहिचान तथा नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम