ताजा खबर

नागरिकताको मुद्दालाई अतिरञ्जित गर्न खोजिँदैछ : एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा

वार्सा । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपालीहरूको नागरिकतासम्बन्धी विषयलाई विभिन्न विषयसँग मिसाएर अतिरञ्जित गर्न खोजिएको बताउनुभएको छ।

गैरआवासीय नेपाली संघ पोल्याण्डको आयोजनामा बिहीबार वार्सामा आयोजित अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष शर्माले विदेशमा रहेका नेपालीका आठ प्रकारका अवस्थालाई समेट्ने गरी नागरिकतासम्बन्धी स्पष्ट प्रावधान आउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्दै वंशजको नागरिकताको निरन्तरताका लागि संविधान संशोधनमार्फत बाटो खोल्नुपर्ने बताउनुभयो। वंशजको नागरिकताको निरन्तरता सुनिश्चित भए पनि दोहोरो नागरिकताको व्यवस्था नभएका देशमा रहेका नेपालीका लागि गैरआवासीय नेपाली नागरिकताको प्रावधान उत्तिकै आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रम एनआरएनए पोल्याण्डकी अध्यक्ष रिता तिवारी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्ष डा. बोधराज सुवेदीसहित पोल्याण्डमा रहेका नेपाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

स्मरणीय छ, एनआरएनएको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेकै अवस्थामा पोल्याण्ड भ्रमण गर्ने डा. हेमराज शर्मा पहिलो केन्द्रीय अध्यक्ष हुनुहुन्छ। यस अर्थमा उहाँको पोल्याण्ड भ्रमण र नेपाली समुदायसँगको प्रत्यक्ष अन्तरक्रियालाई विशेष महत्त्वका साथ हेरिएको छ।

कार्यक्रममा सहभागीहरूले विदेशमा रहेका नेपालीहरूले भोग्दै आएका व्यावहारिक समस्या, एनआरएनएको संस्थागत भूमिका र प्रभावकारिता, नेपाली नागरिकका हकहित, कूटनीतिक प्रतिनिधित्व, बैंकिङ तथा आर्थिक कारोबारमा देखिएका कठिनाइ र विदेशमा रहेका नेपाली समुदायका साझा सरोकारका विषयमा जिज्ञासा तथा प्रश्न राखेका थिए।

अन्तरक्रियाका क्रममा पवन खड्काले अडियोमार्फत आफ्नो जिज्ञासा राख्नुभएको थियो। त्यसैगरी मित्रलाल पार्दे, हरिशचन्द्र गिरी, विवश ह्याङ राई, सुमन थपलिया, भीम परियार, सुसन परियार, सुभाष खतिवडा, गोपाल राई तथा एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्ष डा. बोधराज सुवेदीलगायतले आफ्ना प्रश्न, अनुभव र धारणा प्रस्तुत गर्नुभएको थियो।

सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष शर्माले एनआरएनए सबै नेपालीको साझा संस्था भएको उल्लेख गर्नुभयो। उहाँले सबै संघसंस्थासँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै कुनै पनि संस्थालाई काखा र पाखाको व्यवहार गर्न नहुने स्पष्ट पार्नुभयो।

‘एनआरएनएको नजरमा कुनै पनि संस्था काखा र पाखा हुनु हुँदैन। सबै संघसंस्थालाई समान दृष्टिकोणले हेर्नुपर्छ,’ उहाँले भन्नुभयो।

उहाँले विदेशमा रहेका नेपालीका वास्तविक समस्या बुझेर संस्थागत जिम्मेवारीलाई प्रभावकारी बनाउनुपर्ने र केन्द्र तथा राष्ट्रिय समन्वय परिषद्बीचको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने धारणा पनि राख्नुभयो।

कार्यक्रममा अध्यक्ष शर्माले आगामी युरोपेली एनआरएनए सम्मेलन पोल्याण्डमा आयोजना गर्ने जानकारीसमेत दिनुभएको थियो। यसले पोल्याण्डमा रहेका नेपाली समुदाय र एनआरएनए अभियानलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन उदयराज गिरीले गर्नुभएको थियो।

विदेशमा रहेका नेपाली नागरिकका समस्या, अपेक्षा र सरोकारलाई संघको केन्द्रीय नेतृत्वसमक्ष प्रत्यक्ष रूपमा राख्न पाउनु कार्यक्रमको महत्त्वपूर्ण पक्ष बनेको थियो। विशेषगरी पोल्याण्डमा रहेका नेपालीहरूको सरोकार, संस्थागत पारदर्शिता, जवाफदेहिता र एनआरएनए अभियानलाई थप प्रभावकारी बनाउने विषयमा भएको खुला संवादलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका थिए।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता