कांग्रेसको नाम, झण्डा र रूख चिह्नमाथि हाम्रो अधिकार छः डा. महत
काठमाडौं । कांग्रेस देउवा पक्षका नेता डा. प्रकाशशरण महतले पार्टीको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न आफूहरूलाई कुनै पक्षले रोक्न नसक्ने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै १५औँ केन्द्रीय महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक समेत रहेका महतले आफूहरुको महाधिवेशनबाट निर्वाचित हुने कार्यसमिति नै आधिकारिक कांग्रेस हुने दाबी गरे ।
विगतमा न्यायिक प्रक्रियामा कमजोरी भएको उल्लेख गर्दै पुनरावलोकनबाट आफूहरूले न्याय पाउने अपेक्षा उनको थियो । तर, सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदै आफ्नो पक्षमा निर्णय भएको दाबी गर्नु उचित नहुने उनले स्पष्ट पारे ।
महतले पार्टीभित्रको विवाद समाधान गरी कांग्रेसलाई एकताबद्ध बनाउने आफ्नो चाहना रहेको बताए । महाधिवेशनमा सबै पदमा सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास गरिने उनको भनाइ छ ।
उनले पार्टीभित्र आपसी समझदारी कायम गरेर सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको पनि बताए । देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाण्डुको खुलामञ्चमा १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ ।
महाधिवेशनलाई सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरेर आवश्यक तयारी अघि बढाइएको महतले जानकारी दिए ।

