डायस्पोरा

भूतपूर्व गोर्खाका मुद्दाबारे एभरेष्ट ल फर्मद्वारा निःशुल्क कानूनी परामर्श

लन्डन । बेजिङस्टोक नेपलिज कम्युनिटीले शुक्रबार बेजिङस्टोकमा भूतपूर्व गोर्खासम्बन्धी अध्यागमन नीति, त्यसका प्रभाव र कानूनी प्रक्रियाबारे अन्तरक्रिया आयोजना गरेको छ। कार्यक्रममा लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्सका सोलिसिटर तथा केस वर्करहरुले निःशुल्क कानूनी परामर्श दिएका थिए।

कार्यक्रममा वरिष्ठ सोलिसिटर राजु थापाले बेलायतमा हाल १ लाख ५७ हजार मुद्दा पेन्डिङमा रहेको र अदालतको फैसला आउन करिब डेढ वर्ष कुर्नुपर्ने बताए। उनले आफ्नो फर्मको सफलता दर ९० प्रतिशत रहेको उल्लेख गर्दै ६९ वर्षीय गोर्खा सन्तानको मुद्दा उच्च अदालतबाट जितेको, ७२ वर्षीयले पहिलो आवेदनमै भिसा पाएको तथा ५६ र ६४ वर्षीय सन्तानले अपिलमार्फत बेलायत आउने अनुमति पाएको उदाहरण प्रस्तुत गरे।

थापाका अनुसार पछिल्लो १८ महिनामा एभरेष्ट ल फर्मबाट आवेदन गरिएका २६० वटा मुद्दा होम अफिसले फिर्ता लिएको थियो, जसको अर्थ अदालतमा सुनुवाइबिनै भिसा प्राप्त हुनु हो। उनले आर्थिक सहयोगको प्रमाण नहुनु, सन्तानसँग भावनात्मक सम्बन्ध पुष्टि गर्न नसक्नु र भेटघाटका लागि नेपाल नगएको देखिनु मुद्दा असफल हुने प्रमुख कारण रहेको बताए। मेडिकल रिपोर्ट, बैंकमार्फत पैसा पठाएको प्रमाण, सही ठेगाना, अद्यावधिक इमेल र पर्याप्त कागजात राख्न पनि उनले सुझाव दिए। साथै, सामाजिक सञ्जालमा अध्यागमन कानूनबारे गलत सूचना दिने अनधिकृत व्यक्तिबाट सचेत रहन आग्रह गरे।

एभरेष्ट ल फर्मका सिनियर सोलिसिटर इमरान अलीले गोर्खासम्बन्धी मुद्दामा आफ्नो डेढ दशकभन्दा लामो अनुभव सुनाउँदै केसको सूक्ष्म अध्ययन, सही बयान र पर्याप्त प्रमाण महत्वपूर्ण हुने बताए। उनले बयान र अदालतमा प्रस्तुत विवरण फरक पर्न नहुने, वृद्धवृद्धाका लागि अंग्रेजी भाषा चुनौती हुन सक्ने भएकाले नेपाली बोल्ने सोलिसिटरसँग परामर्श लिनुपर्ने सुझाव दिए। बेलायत आउने प्रक्रियाका कारण सम्बन्ध विच्छेद नगर्न र आर्थिक सहयोग बैंक तथा अनलाइन माध्यमबाट पठाउन पनि उनले आग्रह गरे।

अलीको अंग्रेजी भनाइ एभरेष्टकै केस वर्कर डोरिसा आचार्यले नेपालीमा अनुवाद गरेकी थिइन्।

त्यसैगरी, एभरेष्ट ल फर्मका केस वर्कर मोहमद सकिल अक्रमले होम अफिसले हालै घोषणा गरेको सेटलमेन्टसम्बन्धी नयाँ अध्यागमन नियम र परिवर्तन गरिएको स्किल्ड वर्कर भिसाबारे जानकारी दिए। उनले आम्दानीका आधारमा सेटलमेन्ट अधिकार पाउने समय निर्धारण गरिएको र पीएसडब्लू भिसामा रहेकालाई न्यूनतम तलबको मापदण्ड पूरा गरी वर्क परमिटमा जान सहज रहेको बताए।

कार्यक्रममा बेलायत, नेपाल र भूतपूर्व गोर्खाबीचको त्रिपक्षीय वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका मेजर (रि.) जुदबहादुर गुरुङले आवेदनमा गलत सूचना नदिन, अर्काको सन्तानलाई आफ्नो बनाएर नल्याउन, नक्कली कागजात पेश नगर्न र अनुभवी कानूनविद्बाट मात्रै कानूनी सल्लाह लिन आग्रह गरे।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता