काठमाडौं । आइसिसी टी-२० विश्वकपमा नेपालले १२ वर्ष लामो जितको प्रतीक्षा समाप्त गर्दै ऐतिहासिक सफलता हात पारेको छ । मंगलबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको समूह ‘सी’ को अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले विश्वकपमा सुखद अन्त्य गरेको हो ।
सन् २०१४ को विश्वकपमा अफगानिस्तानलाई पराजित गरेयता नेपालको यो पहिलो जित हो । जारी विश्वकपका सुरुवाती तीन खेलमा पराजित भई सुपर-८ को दौडबाट बाहिरिए पनि अन्तिम खेलमा स्कटल्यान्डमाथि हात पारेको यो जित नेपालका लागि प्रतिष्ठा र कीर्तिमानका दृष्टिले महत्वपूर्ण रह्यो ।
दीपेन्द्र र सोमपालको कीर्तिमानी प्रदर्शन
नेपालको जितका नायक दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै नयाँ कीर्तिमान कायम गरे । मात्र २३ बलमा ५० रन जोड्दै उनी विश्वकपमा नेपालका लागि दुईवटा अर्धशतक प्रहार गर्ने र लगातार दुई खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनले यसअघि वेस्ट इन्डिजविरुद्ध पनि अर्धशतक बनाएका थिए । साथै, विश्वकपमा नेपालका लागि सर्वाधिक ७ छक्का प्रहार गर्ने रेकर्ड पनि अब दीपेन्द्रकै नाममा छ ।
बलिङतर्फ सोमपाल कामीले ३ विकेट लिँदै विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले आफ्नो कुल विकेट संख्या १० पुर्याएका छन् ।
ओपनिङमा नयाँ इतिहास
१७१ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ७४ रनको ओपनिङ साझेदारी गरे, जुन विश्वकपमा नेपालको अहिलेसम्मकै उच्च साझेदारी हो । कुशल भुर्तेलले ३५ बलमा ४३ रन जोड्ने क्रममा ४ छक्का प्रहार गरे, जुन विश्वकपको एकै इनिङ्समा कुनै पनि नेपाली ब्याटरले प्रहार गरेको सर्वाधिक छक्का हो । आसिफ शेखले ३३ र गुल्सन झाले अविजित २४ रनको योगदान दिए।
यसअघि टस जितेर बलिङ रोजेको नेपालले स्कटल्यान्डलाई २० ओभरमा १७० रनमा रोकेको थियो । स्कटल्यान्डका लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । नेपालका लागि सोमपालले ३, नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १-१ विकेट लिए । नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम ५ ओभरमा मात्र ३९ रन खर्चेर ६ विकेट लिएका थिए ।
यस जितसँगै नेपालले १२ वर्षपछि विश्वकपमा आफ्नो उपस्थिति बलियो रूपमा दर्ज गराएको छ । टोलीका १५ सदस्यमध्ये यसपटक बसिर अहमदबाहेक सबै खेलाडीले मैदानमा उत्रिने मौका पाए । मंगलबारको खेलमा खेलमा नेपालले करण केसीको स्थानमा सन्दीप जोरालाई खेलाएको हो ।