२९ बैशाख २०८१, शनिबार
Follow Us

शहिदपुत्र इन्द्रहाङ लिङदेन जनसम्पर्क समिति यूकेको महामन्त्रीमा उठ्ने

नेपालब्रिटेन डट कम्
३ भाद्र २०७४, शनिबार १६:१९


आगामी सेप्टेम्बर १६ मा हुन गइरहेको नेपाली जनसम्पर्क समिति बेलायतको अधिबेशनमा लण्डन निवासी युवा इन्द्रहाङ लिङदेन महामन्त्री पदमा उम्मेद्वारी दिने भएका छन् । बिद्याथीकालबाटै नेपाल बिद्यार्थी संघमार्फत राजनीतिमा होमिएका लिङदेन हाल ने. बि. संघ बेलायतका सदस्य छन् । हाल उनी दिलमाया फाउण्डेशन यूकेका वर्तमान सचिब पनि हुन् ।

आफू बेलायत आएबाट नै जनसम्पर्क समिति कार्यसमितिमा बसेर काम गर्ने इच्छा भएपनि तत्कालमा रहेको असहमतिका कारण आफूजस्ता धेरै युवाहरु हतोत्साही भएको तर नेतृत्व वर्गमा हालै बढेका सहमतिले आफू उत्साहित भएको बताउँछन् । एनपीसीसी यूकेमा हालै विकास भएको एकतालाई अझ सुदृढ गर्दै यसलाई नयाँ तरिकाबाट अघि बढाउन पुराना मात्र नभएर नयाँ अनुहारहरुको पनि उल्लेख्य उपस्थिति हुनपर्ने उनी जनाउछन् । आफू महामन्त्री पदमा निर्वाचित भएमा एनपीसीसी यूकेलाई बेलायतका सबैभन्दा सम्मानित संगठन बनाउने र नेपालको समग्र विकासका लागि नेपाली काँग्रेसलाई अरु शक्तिशाली पार्टी बनाउन उल्लेख्य भूमिका निर्वाह गर्ने उनको योजना छ ।

को हुन् इन्द्रहाङ लिङदेन ?

ताप्लेजुङ काँग्रेसका हस्तीहरुका काखमा हुर्किएका इन्द्रहाङ आफूलाई थाहाभएदेखि नै काँग्रेसी भएको बताउँछन् । उनका लागि परिवारका ठ्रला सदस्यहरु नै प्रेरणाको श्रोत भए । कांग्रेसी भएकै कारण आफ्ना परिवारहरुलाई माओवादीहरुले बिस्थापित गर्नु अघिसम्म माहिला ठूलाबाउ टेक बहादुर लिङदेन नेपाली काँग्रेस ताप्लेजुङ जिल्ला समितिका बरिष्ठ नेता थिए भने साहिँला ठूलाबाउ पदम् बहादुर लिङदेन नेपाली काँग्रेसका तर्फबाट ताप्लेजुङ जिल्ला क्षेत्र नं. ९ का क्षेत्रपाल थिए ।

त्यस्तै गरी एक सच्चा, कर्मठ र स्वाभिमानी काँग्रेसी हुनाका कारण उनका बुबा नर प्रसाद लिङदेनलाई सेप्टेम्बर २००३ मा ताप्लेजुङको साब्लाखुस्थित आफ्नै घर नजिक एक जंगलमा लगी माओवादीहरुले हत्या गरेका थिए । स्वर्गीय नरप्रसाद लिङदेनले ब्रुनाईमा जीआरयू सेनामा सेवारत रहँदा आफ्ना गोर्खा सहकर्मीहरुका हक र अधिकारका निम्ति पहिलो आवाज उठाएका थिए । सोही कारण आफ्ना अन्य दश जना सहयोद्दा मित्रहरुका साथ उनलाई जीआरयू सेवाबाट अन्यायपूर्वक निस्कासन गरेपछि उनी नेपाल फर्के र नेपाली काँग्रेस र गाउँघरको सेवामा समर्पित भए ।

नेपाली जनसम्पर्क समिति बेलायतमा बसेर आफूले काम गर्न पाए आफ्ना स्वगीय बुबाको अधुरो सपना साकार पार्ने एउटा अवसर पनि हुने इन्द्रहाङ बताउँछन् ।

पाँच बर्षअघि बिद्यार्थीका रुपमा बेलायत प्रवेश गरेका इन्द्रहाङ लिङदेनले पूर्वाञ्चल विश्व बिद्यालयबाट मार्केटिङमा र एङलिया रस्किन युनिभर्सिटीबाट फाइनान्समा गरेर दोहोरो एमबिए गरेका छन् । त्यस्तैगरी उनले वेस्टमिनिस्टर किङसवे कलेजबाट लिडरशीप एण्ड म्यानेजमेण्टमा पोस्टग्रयाजुएट डिप्लोमा गरेका छन् । लिङदेन नेपालमा आयोजित मिस्टर नेपाल २०१० मा टप फाइभ फाइनालिस्ट पनि भएका थिए । आफ्ना परिवारका साथ दक्षिणपूर्बी लण्डनको आबिवुडमा बसोवास गरिरहेका लिङदेन पेशाले हाल रेस्टुरेण्ट म्यानेजर हुन्।