२९ बैशाख २०८१, शनिबार
Follow Us

ब्लड क्यान्सरपीडित चार वर्षीया बालिका क्रिस्टिनालाई एनआरएन यूकेको ५ लाख सहयोग

नेपालब्रिटेन डट कम्
११ माघ २०७४, बिहीबार १९:१६

लण्डन । ब्लड क्यान्सरपीडित चार वर्षीया बालिका क्रिस्टिना सुनुवारको उपचारमा सघाउनको लागि एनआरएन यूकेले करिब ५ लाख रुपियाको सहयोग संकलन गरेको छ । एनआरएन यूकेको राहत संकलन विभागको संयोजनमा संकलित ३ हजार ५ सय पाउण्ड नेपाल पठाइएको छ ।

विभागकी संयोजक तथा एनआरएन यूके उपाध्यक्ष सुशिला राईका अनुसार एनआरएन यूकेका पदाधिकारी, सदस्य, सल्लाहकारहरुका साथै बेलायतबासी सम्पुर्ण नेपालीको सहयोगमा उक्त रकम संकलन भएको हो ।
एनआरएन युकेका महासचिव राज कुमार त्रिपाठीका अनुसार संकलित रकम मंगलवार संघको केन्द्रीय खातामा जम्मा गरिएको छ । त्रिपाठीका अनुसार सो रकम केन्द्रीय महासचिव डा. बद्री केसी र सदस्य सुष्मा राईले संयुक्त रुपमा हस्तान्तरण गर्ने छन् । एनआरएन यूकेकी उपाध्यक्ष तथा राहत संकलन विभाग संयोजक सुशिला राईले सबै सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

क्रिस्टिनाको ब्लड क्यान्सरको उपचारका लागि १५ देखि २५ लाख रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएका छन् । तर परिवारले सो रकम जुटाउन नसकेपछि सहयोगका लागि सार्वजनिक याचना गरेको थियो । यसअघि एनआरएन युकेले सगरमाथा तेक्वान्दो कल्वको लागि १० लाख ७६ हजार रुपैयाँ सहयोग गरेको थियो । महासचिव त्रिपाठीले वेलायतस्थित नेपाली समूदाय तथा सहयोगदाताहरुलाई भविष्यमा पनि परोपकारी काममा सहयोग गर्न आग्रह गर्दै धन्यवाद ज्ञापन परे ।