१९ बैशाख २०८१, बुधबार
Follow Us

बाग्लुङ बरेङमा पहिरो, एकै घरका तीनको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ असार २०७५, मंगलवार ०५:३४

बाग्लुङ । पहिरोले घर बगाउँदा बाग्लुङको बरेङमा एकै घरका तीन जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै सुतिरहेको बेलामा एक्कासि खसेको ठूलो पहिरोमा परी उनीहरुको ज्यान गएको हो । पहिरोमा पुरिएका मृतक तीनै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय, बरेङको प्रहरी टोली र स्थानीयवासी बिहानैदेखि उद्धारमा खटिएका थिए । घरसँगै गोठ पनि पहिरोले बगाएको जनाइएको छ । मृतक क्षेत्रीका दुई छोरी भने पढाइको सिलसिलामा बाहिर रहेको बुझिएको छ ।

रातभर परेको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि ठूलो भौतिक क्षति पु¥याएको छ । बरेङ गाउँपालिकाका–२ हुग्दीशिरको ब्राहकोट प्रावि पहिरोले क्षतिग्रस्त बनेको जनाइएको छ ।