१८ बैशाख २०८१, मंगलवार
Follow Us

उपप्रधानमन्त्री यादव बेलायती प्रधानमन्त्रिको स्वागत समारोहमा सहभागी

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७५, बुधबार २२:५९

लण्डन। संयुक्त अधिराज्य सरकार, विश्व स्वास्थ्य संगठन र आर्थिक सहयोग र विकास सम्बन्धी संगठनको संयुक्त आयोजनामा लण्डनमा मानसिक स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय विश्व सम्मेलन सम्पन्न भएको छ ।

मंगलवार देखि सुरु भएको दुई दिने सो समेलनले एक्काइसौँ शताव्दीमा मानसिक स्वास्थ्यमा समानता प्राप्तिको लक्ष्य निर्दिष्ट विश्व घोषणापत्र जारी गरेको नेपाली दुतावास लन्डनले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवले बुधवार पूर्ण सत्रलाई सम्बोधन गर्दै मानसिक स्वास्थ्य समस्या अल्प विकसित र विकासोन्मुख राष्ट्रहरुको मात्र नभई विश्व मानव समुदायकै एक गम्भीर समस्या रहेको बताए ।

निम्न तथा मध्यम आय भएका मुलुकहरुका हरेक पाँच जनामा एक जनामा मानसिक रोगको समस्या रहेको उल्लेख गर्दै यादवले दक्षिण एसिया क्षेत्रमा रहेको कूल जनसंख्याको वीस प्रतिशत जनता मानसिक रोगबाट ग्रसित रहेको बताए ।

विश्व सम्मेलनको पहिलो दिन उप—प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवले सम्मेलन आयोजक समितिका अध्यक्ष टिम केंदलसंग शिष्टाचार भेट गरेका थिए । भेटमा मानसिक रोगको निदानमा द्धिपक्षीय सहयोग सम्बन्धमा वार्ता भएको थियो ।

यादव बेलायती प्रधानमन्त्री टेरिजा मेले डाउनिङस्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयमा बुधवार आयोजना गरेको स्वागत समारोहमा समेत सहभागी भए ।

यादवको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, मानसिक स्वास्थ्य विज्ञ डा.रवीन्द्र ठाकुर, स्वकीय सह—सचिव अमरेन्द्र यादव र उप—सचिव भवनाथ खतिवडा रहेका थिए ।