२० बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति मुखर्जीको नागरिक अभिनन्दन भोलि

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७३, बुधबार १०:०५

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बिहीबार नागरिक अभिनन्दन गर्ने भएको छ । भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौँ महानगरपालिकाले बिहीबार साँझ करिब ४ बजे राष्ट्रसभागृहमा नगरको साँचो हस्तान्तरण गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । भारतीय राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणका लागि आज दिउँसो यहाँ आउँदै हुनुहुन्छ ।

महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले काठमाडौँ महानगरमा विशिष्ट व्यक्तिलाई कुनै पनि बेला आउनका लागि स्वागत छ भन्नका लागि साँचो हस्तान्तरण गर्ने प्रचलन रहेको जानकारी दिनुभयो ।

राष्ट्रपति मुखर्जीलाई काठमाडौँको प्राचीन महत्व झल्कने खालका उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको महानगरपालिकाले जनाएको छ ।

भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई दृष्टिगत गरी भ्रमणको सम्भावित मार्गमा महानगरपालिकाले विशेष सरसफाइ अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था महाशाखा प्रमुख रवीनमान श्रेष्ठले बताउनुभयो ।