२५ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपा स्थायी समितिको बैठक आज पनि जारी

sarusaru
२ पुष २०७६, बुधबार ०७:०९

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय धुम्बाराहीमा बुधबार बिहान ११ : २० बजेदेखि सुरु भएको नेकपा पार्टी कार्यालयका सचिव इश्वर रिजालले जानकारी दिए।

आइतबारको सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत गरिएको पाँच एजेण्डामा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल-भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश्चात स्थायी कमिटीको बैठकको एजेण्डाका रुपमा स्वीकार गरिएको छ। नेकपाले एक सदस्यलाई बैठकमा कुरा राख्न २० मिनेट समय छुट्याएको छ। रिजालका अनुसार बैठकमा आज थप नेताहरुले आफनो धारणा राख्नेछन्।

मंगलबारसम्मको बैठकमा २५ जना नेताले धारणा राखेका थिए। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालपक्षधर नेताहरू राजनीतिक प्रतिवेदन र सरकारप्रति लचिलो देखिएका छन् भने वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरू विरोधमा उत्रिएका छन्।

नेपाल पक्षधर भीम रावल, सुरेन्द्र पाण्डे, अमृत बोहरा, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतले सरकार र पार्टी नेतृत्वको कार्यशैलीको खुलेर विरोध जनाए। ओली पक्षधर शंकर पोखरेल, छविलाल विश्वकर्मा, केशव बडाल र रघुवीर महासेठले मात्र बोलेका छन्। उनीहरूले सरकार र पार्टी नेतृत्वको बचाउ गरेका छन्।

अध्यक्ष दाहाल निकट अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाललगायत लचिलो देखिएका छन्। ओली पक्षका नेताहरूले भने बैठकमा अन्य नेताहरूले बोलेपछि मात्र आफूहरूले बोल्ने रणनीति लिएका छन्।

सरकारमा सहभागी भएका कारण अघिल्लो पटकको स्थायी समिति बैठकमा सरकार र नेतृत्वको कार्यशैलीमा चर्को आलोचना गरेका नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले भने नेतृत्वलाई उत्तेजित नभई पार्टी र विचार निर्माणमा लाग्न सुझाव दिएका छन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका केपी शर्मा ओली र प्रचण्डको हस्ताक्षरसहित पेश गरिएको प्रतिवेदनमा आगामी कार्ययोजनादेखि २०७७ सालमा पार्टीको महाअधिवेशन गर्नेसम्मका विषय समावेश गरिएको छ।

नेताहरुले एकसरो धारणा राखेपछि उठेका प्रश्नहरुको अध्यक्षले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित परिमार्जन हुनेछ। बैठकमा पार्टीका अर्का अध्यक्ष केपी ओली भने सहभागी छैनन्।

अन्नपूर्ण पोष्ट