काठमाडौँ । नेपाली काँग्रेस भित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात् गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको देउवापक्षीय नेताहरूको अनौपचारिक बैठकले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्दै अघि बढ्ने निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘नेपाली कांग्रेसले सधैँ विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तलाई मान्दै आएको छ । फैसलामा उल्लेख गरिएका कतिपय विषयमा हाम्रा पर्याप्त विमति भए पनि अदालतको निर्णयलाई हामीले आत्मसात् गरेका छौँ ।
फैसलाका कतिपय आधारहरूमा आफूहरूको असन्तुष्टि र विरोधाभास रहे तापनि न्यायलयको आदेशलाई शिरोधार्य गर्ने उनले बताए । बैठकले अबको राजनीतिक निकास र पार्टीलाई भावनात्मक रूपमा एकताबद्ध बनाउने दायित्व नयाँ नेतृत्वकै हुने स्पष्ट पारेको छ ।