१६ चैत्र २०८०, शुक्रबार
Follow Us

क्यानबेरा नेपालीको पहिलो रोजाइ

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७६, मंगलवार १०:०३

क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ । स्थायी बसोबासका लागि सहज हुने भए पछि विभिन्न शहरमा रहेका नेपालीको यहाँ बसाइँसराइ क्रम बढ्दो रहेको छ ।

राजधानी क्यानबेरा व्यवस्थित र शान्तशरह हो । यहाँको जनसङ्ख्या चार लाख हाराहारी मात्र रहेको छ । विगत १२ वर्षदेखि बसोबास गर्दै आउनुभएका गैर आवासीय नेपाली सङ्घ क्यानबेरा क्षेत्रका उपसंयोजक अशोक बस्नेत आफूहरु आउँदा २०० को हाराहारीमा रहेका नेपालीको सङ्ख्या हाल पाँच हजार नाघेको बताउनुहुन्छ ।

नेपाली्द्वारा यहाँ सञ्चालित पहिलो शैक्षिक तथा अध्यागमन परामर्श केन्द्रका निर्देशक आदर्शजङ्ग पाण्डेले नेपालीको आकर्षण बढ्नुमा स्थानीय सरकारले अबलम्वन गरेको अध्यागमन नीति नै प्रमुख रहेको जानकारी दिनुभयो ।

यहाँको सरकारले केन्द्र सरकारको नीतिअनुसार अष्ट्रेलियाका मुख्य शहरभन्दा क्षेत्रीय शहरमा आप्रवासीको सङ्ख्या बढाउने कार्यलाई प्राथमिकता दिएको छ । नेपालबाट सोझै यहाँ आउने अन्य शहरबाट अध्ययन गरी स्थायी बसोबास (पिआर)का लागि यहाँ आउने गरेका छन् ।

नेपालीको सङ्ख्या उल्लेख्य वृद्धि भएसँगै विभिन्न सङ्घ संस्थाका गतिविधि पनि बढेका छन् । दुई चार वर्ष अघिसम्म नेपाली चलचित्र प्रदर्शन र नेपाली कलाकारका प्रस्तुति खासै रहेको थिएन । पछिल्ला वर्षहरुमा ती गतिविधि बढेका छन् । यहाँको अष्टे«लिया नेपाल फ्राइन्डसिप सोसाइटीका गतिविधि पनि बढ्दै गएको छ । ३७ वर्ष अघि यहाँका अष्टे«लियन र केही नेपाली विद्यार्थीले संस्था स्थापना गरेका थिए ।

संस्थाको पहिलो महिला अध्यक्ष खुस्बु न्यौपाने पछिल्ला वर्षहरुमा अष्ट्रेलियाका अन्य शहरमा रहेका नेपाली विद्यार्थी पनि यहाँ आउने क्रम निकै बढेको बताउनुहुन्छ । नेपालीको सङ्ख्या बढेसँगै सोसाइटीले नेपालका हितमा विभिन्न कार्यक्रम ल्याएको छ ।

यहाँका अधिकांश आवास क्षेत्रमा नेपाली भेट्न सकिन्छ । अस्पताल, व्यावसायिक मल, सरकारी कार्यालय, व्यापारिक केन्द्र, विश्वविद्यालयलगायतमा नेपाली कार्यरत रहेको देख्न सकिन्छ । यहाँ नेपालीहरुको खेलप्रति रुचि र गतिविधि उल्लेख्यरुपमा बढेको छ । नेपालीहरुले क्यानबेरा नेपाली फुटबल क्लब, भलिबल क्लब र क्रिकेट क्लब गठन गरेर सामूहिक खेलकूद गतिविधि सञ्चालन गर्दै आएका क्रिकेट क्लबका अध्यक्ष कमल आचार्यले जानकारी दिनुभयो ।

सन् २०२० को अप्रिलमा अष्ट्रेलिया र छिमेकी देशमा नेपालीको सहभागितामा क्यानबेरामा बृहत् मेला हुने गरेको कार्यक्रमका ससंयोजक तथा अष्ट्रेलिया सरकारका वरिष्ठ जलस्रोतविज्ञ डा दुर्गादत्त कँडेलले बताउनुभयो । यहाँको सरकारी अस्पताल क्यानबेरा अस्पतालमा कार्यरत अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीका जनसम्पर्क अधिकृत समिर अधिकारी स्थायी बसोबास र सुुनिश्चित भविश्यको सहजताका लागि यहाँ नेपाली आउन क्रम बढेको बताउनुहुन्छ । यही शहरमा अष्ट्रेलियाका लागि नेपाली राजदूतावास रहेको छ । अष्ट्रेलियाको सङ्घीय सरकारको संसद्का दुवै सभा, प्रधानमन्त्री एवं मन्त्रीहरुको कार्यालय सबै यही छन् ।

क्यानबेरामा नेपालीहरुका लागि उपयुक्त देखिए पनि राज्य तथा केन्द्र सरकारका अध्यागमन नीति नियमको बारेमा बुझेर मात्रै आउनुपर्ने यहाँको अध्यागमनसम्बन्धी जानकार विक्रम सुवेदी बताउनुहुन्छ ।
– नारायण अधिकारी