२१ बैशाख २०८१, शुक्रबार
Follow Us

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
१४ माघ २०७६, मंगलवार ०५:०३

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकको सुरुमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई दलीय आधारमा सांसदहरुले बधाई तथा शुभकामना दिने कार्यसूची छ । सभामुख सापकोटाले संचालन गर्ने पहिलो बैठकमा संवैधानिक आयोगका केही प्रतिवेदनहरु पेश गर्ने संभावित कार्यसूची निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको बार्षिक प्रतिवेदन बैठकमा पेश हुनेछ । यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संसोधन) विधेयक र भ्रष्टाचार निवारण (पहिलो संसोधन) विधेयक पेश हुनेछन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले योगमाया आयुर्वेदख विश्वविद्यालय विधेयक–२०७६ लाई सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ । बैठकमा सभा अध्यक्षले प्रतिनिधिसभाका पूर्वसदस्य गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।