२७ बैशाख २०८१, बिहीबार
Follow Us

७२ घण्टाभित्रै चितवनमा बन्यो ७० शैयाको अस्पताल

sarusaru
७ चैत्र २०७६, शुक्रबार ०६:२७

चितवनमा ७२ घण्टाभित्र ७० शैयाको ‘कोरोना विशेष अस्थायी अस्पताल’ तयार भएको छ।

आजै बिहान ११ बजे अस्पतालको शुभारम्भ गरिने भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले जानकारी दिइन्।

‘अस्पताल तयार भयो। हामी बिहान ११ बजेबाट अस्पताल सञ्चालनमा ल्याउँछौं,’ उनले भनिन्।

भरतपुर महानगरपालिका-१० स्थित प्रदर्शनी केन्द्रको तीन वटा भवनमा अस्पताल तयार गरिएको हो।

अस्पतालमा ५० वटा जनरल, १० वटा आइसियू र १० वटा एचडियू बेड छन्।

५० वटा जनरल बेड राख्ने काम बिहीबार नै सकिएको थियो। आइसियू र एचडियू बेड पनि शुक्रबार दिउँसोसम्म जडान गरिसक्ने महानगरको तयारी छ।

मंगलबारबाट काम सुरू गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र सर्वसाधरणको टोली समेत गरेर १ सय ५० जनशक्ति खटिएका थिए।

‘७२ घण्टाको समयसीमा तोकेपछि काम सक्न एकदमै प्रेसर भयो। सबैले उतिकै साथ दिएपछि भने अनुसार काम भयो,’ मेयर दाहालले भनिन्।

अस्पतालको सञ्चालनको जिम्मा भने भरतपुर महानगरपालिकाले लिनेछ। अब कोरोनाको आशंका लागेका यहीँ अस्पतालमा उपचार गरिने छ।

‘हामीले भरतपुरमै कोरोनाको नमूना परीक्षणको जाँच गर्ने ल्याबको पनि व्यवस्था गर्न केन्द्रसँग कुरा गर्छौं,’ मेयर दाहालले भनिन्।
सेतोपाटी