३१ बैशाख २०८१, सोमबार
Follow Us

कोरोना सन्त्रास : ११ हजार ८ सय बढीको ज्यान गइसक्यो

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०७६, शनिबार ११:३८

जुरिच । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणका कारण शनिबार दिउँसोसम्मा विश्वभर ११ हजार ८ सय २९ को ज्यान गएको छ । चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोनाको महामारीबाट विश्वभरमा शनिबार दिउँसोसम्ममा ११ हजार ४ सय बढीको ज्यान गएको हो । जसमा सबैभन्दा धेरै इटालीमा ४ हजार ३२ को ज्यान गएको छ । ४७ हजार २१ जना भाइरसको संक्रमित भेटिएका छन् भने ५ हजार १२९ जना निको भएर घर फर्किसकेका छन् ।

धेरै ज्यान जाने मुलुकको सूचीको दोस्रो स्थानमा रहेको भाइरसको उद्गमस्थल चीनमा ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ । चीनमा ८१ हजार ८ जना संक्रमित भेटिएकामा ७१ हजार ७४० जना निको भएर घर फर्किएका छन् ।

त्यसैगरी इरानमा २० हजार ६ सय १० जना संक्रमित भेटिएकामा १ हजार ५ सय ५६ को ज्यान गएको छ भने ७ हजार ६ सय ३५ जना निको भएर घर फर्किएका छन् । २१ हजार ५ सय ७१ जना संक्रमित भेटिएको स्पेनमा १ हजार ९३ को ज्यान गएका छ भने १ हजार ५ सय ८८ जना निको भएर घर फर्किएका छन् ।

जर्मनीमा १९ हजार ८ सय ४८ संक्रमित भेटिएकामा ६८ जनाको ज्यान गएको छ भने १ सय ८० जना निको भएर घर फर्किएका छन् । संयुक्त राज्य अमेरिकामा पनि १९ हजार ७ सय ७४ जना संक्रमित भेटिएकामा २ सय ७५ जनाको ज्यान गएको छ भने १ सय ४७ जना निको भएर घर फर्किएका छन् । १२ हजार ६ सय १२ संक्रमित भेटिएको फ्रन्समा ४ सय ५० को ज्यान गएको छ भने १ हजार ५ सय ८७ जना निको भएर घर फर्किएका छन् ।

८ हजार ७ सय ९९ जना संक्रमित भेटिएको दक्षिण कोरियामा १ सय २ जनाको मृत्यु भएको छ भने २ हजार ६ सय २१ जना निको भएर घर फर्किएका छन् । ५ हजार ६ सय १६ जना संक्रमित भेटिएको स्विट्जरल्याण्डमा ५७ जनाको ज्यान गएको छ भने १५ जना निको भएर घर फर्किएका छन् । त्यसैगरी बेलायत यूकेमा ३ हजार ९ सय ८३ संक्रमति भेटिएकामा १ सय ७७ को मृत्यु भइसकेको छ भने ७५ जना निको भएर घर फर्किएका छन् ।