५ जेष्ठ २०८१, शनिबार
Follow Us

तेलको मूल्य इतिहासमै पहिलोपटक ऋणात्मक

नेपालब्रिटेन संवाददाता
९ बैशाख २०७७, मंगलवार ०५:४३

न्यूयोर्क । अमेरिकामा तेलको मूल्य इतिहासमै पहिलोपटक ऋणात्मक भएको छ । मूल्य ऋणात्मक भएपछि उत्पादकले आफ्नो उत्पादन बिक्री गर्नका लागि क्रेतालाई उल्टै पैसा दिनुपर्ने अवस्था आएको हो ।

अमेरिकामा तेलको मूल्य निर्धारण गर्ने वेस्ट टेक्सस इन्टरमिडिएट ‘डब्लुटिआई’ मा तेलको मूल्य माइनस ३७ दशमलब छ तीन अमेरिकी डलर प्रति ब्यारेल पुगेको छ ।

लकडाउन जारी रहे अमेरिकामा तेलको जुन महिनाको मूल्यमा पनि गिरावट आउन सक्ने बताइएको छ । यो गिरावटको असर विश्वभरका तेल बजारमा पनि परेको छ ।

तेल भण्डारण क्षमता आउँदो मे सम्ममा समाप्त हुने भएका कारण उत्पादकहरु आफै पैसा तिरेर तेल बिक्री गर्न बाध्य भएका हुन् । पछिल्लो समय तेल उत्पादकहरुले ट्यांकरहरु भाडामा लिएर तेल भण्डारण गरिरहेका छन् । सोही कारण अमेरिकी बजारमा तेलको मूल्य ऋणात्मक घेरामा गएको हो ।

कोरोना भाइरसको महामारी फैलिन नदिनका लागि विश्वभर लागु भएको लकडाउनका कारण मानिसहरु घर भित्रै सीमित भएका छन् । यसले गर्दा तेलको माग लगभग शून्यमा झरेपछि यस्तो अवस्था आएको हो ।