२५ बैशाख २०८१, मंगलवार
Follow Us

भारतीय अतिक्रमणको एनआरएनए युकेद्धारा भर्त्सना

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७७, बुधबार १८:३९

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भरतले नेपाली भूभागमा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले एकतर्फी रुपमा आफ्नो नक्सामा समावेश गरि सडक निमार्ण गरेको प्रति विरोध जनाएको छ ।

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बुधबार जारी विज्ञप्ति जारी गर्दै एनआरएनए यूकेले नेपाली भूमि अतिक्रमणको भर्त्सना गरेको हो ।

वक्तव्यमा भारतले नेपाली भूमिको प्रयोग गर्दै तिब्बतको मानसरोवरसम्म पुग्ने सडक निर्माण गरेको कुराले संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको गम्भिर उल्लंघन गर्दै नेपाली सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको भन्दै एनआरएनए यूकेले निन्दा गरेको छ ।

यसअघि पनि नेपाली भूभागमा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले एकतर्फी रुपमा आफ्नो नक्सामा समावेश गरेको भन्दै वक्तव्यमा भारतले एकलौटी रुपमा नेपालको सार्वभौमिकतामाथि आंच आउने यस्ता क्रियाकलाप पटकपटक गर्दै आएको आरोप लगाइएको छ ।

नेपाली सीमामा हुदै आएको भारतीय रवैया तुरुन्त बन्द गर्न माग गर्दै एनआरएनए यूकेले नेपाल सरकारको तर्फबाट सीमासम्बन्धी सम्पूर्ण विवाद कूटनैतिक तथा उच्च राजनैतिक माध्यममार्फत समाधानको पहल गर्न पनि अपील गरेको छ ।

‘वीर गोर्खालीको इतिहास बोकेको हाम्रो देश र त्यहि इतिहासको एउटा अध्याय बोकेको बेलायतमा बस्ने नेपालीहरु यो सवालमा नेपाली जनता र नेपाल सरकारले देशको हितमा उठाउने हरेक कदममा साथ र ऐक्यबद्ध रहेको स्मरण गराउन चाहन्छौ’, वक्तव्यमा भनिएको छ ।