४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

‘भारतीयशैली डब्लुएचओको मापदण्ड विपरीत’

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०७७, बिहीबार ०४:१४

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइ भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै रोष प्रकट गरेका छन् । उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले आज बिहान आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत भएको भनेका छन् । भारतले धेरै नेपालीलाई सीमा क्षेत्रमा ल्याएर छाड्ने गरेको छ ।

तर नेपाल सरकारले भने भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित रुपमा राखेर कोरोना परीक्षण र उपचार गराउँदै आएको छ । भारतबाट लुकिछिपी नेपाल आएका धेरैजसो व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द गरिएकाले धेरै नेपाली नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् ।