३१ बैशाख २०८१, सोमबार
Follow Us

दुई महिनापछि काठमाडौंका व्यापारीहरुले आफुखुसी खोले पसल

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७७, बिहीबार ०८:०२

काठमाडौं । दुई महिनापछि काठमाडौंका व्यापारीहरुले आफुखुसी पसल सञ्चालन गर्न थालेका छन् । काठमाडौंको मुख्य बजार, न्यूरोड, दरबारमार्ग, चाबहिल, वानेश्वर लगायतका क्षेत्रमा आज विहान पसल खुलेका हुन् ।

लकडाउनका कारण भोकै मर्ने अवस्था आएको भन्दै सरकारको निर्देशन उल्लंघन गर्दै व्यापारीहरुले आज विहान एघार बजेसम्म पसल खोलेका हुन् । सरकारको निर्णय दुई महिनाभन्दा लामो समयसम्म पालना गरेको तर राज्यले कुनै विकल्प नदिएपछि पसल खोल्न बाध्य भएको ब्यापारीहरुको भनाइ छ ।

सरकारले कर मागेको, बैंकले साँवा ब्याजको ताकेता गरेको र घरबेटीले घरभाडा मागेको अवस्थामा पसल खोल्नुको विकल्प नभएको उनीहरुको भनाइ छ । किराना र औषधि लगायतका पसल यसअघि नै खुलेका थिए । आजदेखि हार्डवेयर, मोबाइल, कपडा र फलफूल लगायत पसल सञ्चालनमा आएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा ब्यापारीले पसल खोल्न थालेपछि उपत्यकामा सुरक्षा चुनौती बढेको छ । महासंघले प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्ने हिजो नै जानकारी गराएको थियो । केही स्थानमा खुलेका पसल प्रहरीले बन्द गराएको छ ।