२० बैशाख २०८१, बिहीबार
Follow Us

कुवेतबाट ३०६ जना नेपाली काठमाडौं आइपुगे, यथाशीघ्र सबैको उद्दार गर्न एनआरएनएको माग

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७७, बिहीबार १०:४०

काठमाडौं । लकडाउनका कारण समस्यामा परेका ३०६ जना नेपाली आज कुवेतबाट फर्केका छन् । कुवेतको जजिरा एयरलायन्सको दुईवटा विमानमार्फत उनीहरु नेपाल आएका हुन । पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडानमार्फत १ सय ४९ जना आएका हुन् । स्वदेश फर्केकालाई नेपाली सेनाको टोलीले राजधानीस्थित होल्डिङ सेन्टरमार्फत क्वारेन्टिनमा पठाउने ब्यवस्था मिलाइएको छ । कोरोनाका कारण रोजगारी गुमेर अलपत्र परेकाले घर फर्कन पाउदा खुसी लागेको र अव नेपालमै व्यवसाय गरेर बस्ने प्रतिक्रिया दिएका छन् ।

यता, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले समस्यामा रहेका सबै नेपालीको उद्दार गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘आज कुवेत सरकारको सहयोगमा ३३५ जना नेपाली स्वदेश फर्कनुभएको छ । घर फिर्ती शिविरमा रहनुभएका २९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काइँदै छ । महिला, बालबालिका लगायत निकै कष्टकर अवस्थामा रहनुभएका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर पठाएका छौँ । अरु पनि धेरै नेपालीलाई यो अवस्थाबाट मुक्त गर्नुपर्ने भएकाले यथाशीघ्र पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गर्दछौँ ।’

बिहीबार नेपाल आउनेहरु गैरकानुनी हैसियतमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला कामदार हुन् । उनीहरुलाई गत अप्रिल २६ तारिखदेखि कुवेतले अस्थायी क्याम्प र डिर्पोटेसन सेन्टरमा राखेको थियो । स्वदेश फर्केकाहरुको व्यक्तिगत विवरण संकलन गरेपछि चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टिनमा पठाइने सेनाले जनाएको छ ।

कुवेतबाट फर्कन चाहेका सात हजार ९ सय ९१ ले दुतावासमा निवेदन दिएका छन् । तिमध्ये दुई हजार ९ सय ९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीन सय जना नेपाली आज फर्केक हुन् । उनीहरु बुधबार उनीहरू आउने भनिए पनि कुवेत र नेपालको समय तालिका नमिलेकाले रद्द भएको थियो । यसअघि म्यानमार र युएईवाट पनि अलपत्र परेका नेपाली फर्किसकेका छन् ।