२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली फिर्ताबारे बेलायतका विदशेमन्त्रीसँग मन्त्री ज्ञवालीको फोन वार्ता

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार ०८:२७

लन्डन । बेलायतमा रहेका नेपाली फिर्ताबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग टेलिफोन वार्ता गरेका छन्।

यूरोप क्षेत्रबाट असार ६ गतेदेखि नेपालीहरु फिर्ता ल्याउने समय तालिका नेपाल सरकारले सार्वजनिक गरिसकेको छ । बेलायतबाट ३ सय ९१ जना नेपाल फर्किने प्रतिक्षा सूचिमा छन् । लन्डनबाट काठमाडौंको हवाइ भाडा १३४० र १०५८ पाउन्ड तोकिएको छ ।

वार्ताका क्रममा नेपालमा रहेका बेलायती नागरिक तथा बेलायतमा रहेका नेपालीलाई सहयोग गर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गर्ने तत्परता उनीहरूले व्यक्त गरेका छन्। कोभिड–१९ विरुद्ध आ–आफ्ना सरकारले चालेका कदमप्रति उनीहरूले ऐक्यबद्धता जनाउनुका साथै सङ्क्रमितहरूको शीघ्र स्वास्थ्यलाभ तथा ज्यान गुमाएकाहरूका परिवारजनमा सहानुभूति र समवेदन प्रकट गरेका छन्।

उनीहरूले द्विपक्षीय, क्षेत्रीय विश्वव्यापी साझा चासोका विषयहरूमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वार्ताका क्रममा विकासशील देशहरूका विकासका कार्यसूची, जलवायु परिवर्तन र बहुपक्षीयताजस्ता विषयमा नेपालसँग साझेदारी गर्ने आश्वासन बेलायतका विदेश राज्यमन्त्री अहमदले दिएको र  महामारीपछिको नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने दृढता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।