२९ बैशाख २०८१, शनिबार
Follow Us

सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु, ३ प्रहरी गम्भीर घाइते

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार ०८:४७

सर्लाही । सर्लाहीको पर्सा गाँउपालिकामा रहेको सशस्त्र प्रहरी पोष्टमा आज विहान भारतीयले आक्रमण गरेका छन् । पर्सा गाँउपालिका वडा नं ३ नारायणपुरमा रहेको पोष्टमा करिव डेढ सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका हुन् ।

सो समूहले हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । गोली लागेर थप दुई जना घाइते भएका छन् । एकजना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी सशस्त्र प्रहरीको हतियार खोस्न खोज्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीतर्फ तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सशस्त्र प्रहरी हवल्दार सञ्जय राय, भुपेन्द्र पौडेल र रविन्द्र बैठा रहेका छन् । उनीहरुको सर्लाहीमा उपचार भइरहेको छ । भारतीयले हतियार खोस्न खोजेपछि प्रहरीले १५ राउण्ड गोली चलाएको बताइएको छ ।

ड्युटीमा खटिएका प्रहरीको हतियार खोस्न खोजेपछि गोलि चलाउनुपरेको सशस्त्र प्रहरीले जनाएको छ । आज बिहान चार जनाको समूहमा आएका भारतीय ब्यापारी जर्वजस्ती नेपाल छिर्न खोजेका थिए । सशस्त्रले उनीहरुलाई रोकपछि नजिकैको गाँउका मानिसहरु बोलाएर उनीहरुले सशस्त्रमाथि आक्रमण गरेको बताइएको छ ।

कोरोना संक्रमणपछि सीमा नाकामा हुने अवैध आवतजावत रोक्न सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतीय नागरिकलाई नेपाल छिर्न रोक लगाएपछि यसअघि पनि बारा, पर्सा, झापा लगायतका जिल्लामा सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएको थियो । घटनापछि थप सुरक्षाकर्मी सीमा क्षेत्रमा परिचालन गरिएको छ ।