३० बैशाख २०८१, आईतवार
Follow Us

आज पनि कुवेतबाट १ सय ४९ जना नेपाली काठमाडौं आइपुगे

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार ०९:१५

काठमाडौं । कुवेतबाट आज पनि १ सय ४९ जना नेपाली काठमाडौं आइपुगेका छन् । जजिरा एयरलाइन्सको पहिलो जहाजबाट उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

हिजो बिहीबार पनि कुवेतबाट ५ सय ३१ जना महिला नेपाल ल्याइएको थियो । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो ।

कुवेतबाट आज काठमाडौं आइपुगेकाहरुमा एक सय ४० जना महिला, २ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका रहेका छन् । उनीहरूलाई साझा यातायत र नेपाली सेनाको गाडिबाट प्रादेशिक होल्डिङ क्षेत्र लगिएको छ ।

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।