३० बैशाख २०८१, आईतवार
Follow Us

सरकारबिरुद्ध देशका विभिन्न स्थानमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार १२:०३

काठमाडौ । लकडाउन उल्लंघन गरेर प्रदर्शन नगर्न सरकारले गरेको चेतावनी दिएपनि आजपनि युवाहरुले देशका विभिन्न स्थानमा सरकार बिरुद्ध प्रदर्शन गरेका छन । सरकार भ्रष्टाचारमा लागेको र कोरोना रोकथाममा प्रयास नगरेको भन्दै प्रदर्शन भएको हो। यसैक्रममा सतप्रतिशत पीसीआर परीक्षणको माग गर्दै युवाहरुले आज बसन्तपुरमा प्रदर्शन गरेका छन् ।

सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागु नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

त्यस्तै आज नै ललितपुरको झम्सिखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम समेत युवाहरुले सार्वजनिक गरेका छन । सरकारले आफुहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् । यसअघि बिहीबार बालुवाटारमा पनि प्रदर्शन भएको थियो । गृहमन्त्रालयले बिहीबार लक डाउनको उलंघन गरी प्रदर्शन गर्नेहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ ।

सरकार भ्रष्टाचारमा लागेको र कोरोना रोकथाममा प्रयास नगरेको भन्दै भक्तपुरको सल्लाघारी लगायतका स्थानमा प्रदर्शन भएको । उता कोरोना संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरुले बुटवलमा पनि प्रदर्शन गरेका छन । स्वर्फूत रुपमा भेला भएर युवाहरुले सडकमा प्रदर्शन गरेका हुन ।

प्रदर्शनमा सहभागीहरुले कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको दश अर्ब रकममा भ्रष्टाचार भएको भन्दै छानविनको माग समेत गरेका छन । सरकारलाई सचेत गराउन आफुहरु सडकमा निस्कनुपरेको युवाहरुले बताएका छन । राष्ट्रिय झण्डा बोकेर युवाले राष्ट्रिय गीत वजाउदै सडकमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बुटवलको राजमार्ग चौराहमा विरोध -याली तथा सभा गरेको हो । -याली मिलनचोक, अस्पताल लाईन, पुस्पलालपार्क हुँदै ट्राफिक चोक पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले कोरोना नियन्त्रणमा गरिएको खर्च सार्वजनिक गर्न समेत माग गरेका छन । प्रदर्शनमा सहभागीहरुले एमसीसी खारेज गर्न, राजसंस्था पुनस्र्थापना गर्न र मुलुकलाई हिन्दु राज्य बनाउन पनि माग गरेका छन ।