३० बैशाख २०८१, आईतवार
Follow Us

त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए

नेपालब्रिटेन संवाददाता
७ असार २०७७, आईतवार ०६:०३

कैलाली । कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन ।

सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनले जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको संख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताए ।

“शुरुका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ”, सूचना अधिकारी जोशीले भने, “आजभोलि दिनमा चार/पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।” आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको संख्या कम रहेको हुनसक्ने उनको अनुमान छ ।