२९ बैशाख २०८१, शनिबार
Follow Us

ट्रम्पद्वारा सबैलाई मास्क लगाउन आह्वान

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०७७, बुधबार ०५:१८

न्यूयोर्क । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मास्क लगाउन आह्वान गरेका छन् । मास्क लगाउनेबारेमा सँधै विपक्षमा रहेका उनले महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपिल गरेका हुन् ।

उनले सबै अमेरिकीलाई मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरेका छन् । मास्क वा रुमालले मुख छोप्दा कोरोना भाइरसको संक्रमणबाट जोगिने भन्दै उनले राष्ट्रप्रेम दर्शाउन पनि मास्क लगाउन आपिल गरेका हुन् । तीन महिनापछि आयोजित पत्रकार सम्मेलन पुन सुरु गर्दै मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने पनि स्वीकार गरे ।

तर ट्रम्प पत्रकार सम्मेलनमा भने मास्क विना नै उपस्थित भएका थिए । संक्रमण तिब्र गतिमा बढेपछि राष्ट्रपतिका सल्लाहकारले नयाँ रणनीति अपनाउन सल्लाह दिएका छन् । तीन महिनापछिको कोरोना पत्रकार सम्मेलनमा उनी उपस्थित भएका हुन् ।

नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफ्ना प्रतिष्पर्धी डेमोक्रेट उम्मेदवार जो बाइडनले कडा टक्कर दिन थालेपछि ट्रम्पको बोली फेरिएको अनुमान गरिएको छ । कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३८ लाख ९१ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये एक लाख ४१ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।