८ जेष्ठ २०८१, मंगलवार
Follow Us

राजदूतावासका लागि ओमानमा जग्गा प्राप्ति सम्झौता

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७७, मंगलवार १४:५८

नेपाली राजदूतावास ओमान तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल र ओमान सरकारबीच जग्गा प्राप्तिसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । ओमानको परराष्ट्र मन्त्रालयमा सोसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली दूतावास भएका देशमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम राजधानी मस्कटमा भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको जनाइएको छ । ओमानका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबी र नेपाल सरकारका तर्फबाट ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो । उक्त सम्झौतानुरूप ओमानको कूटनीतिक हाताभित्र चार हजार १०० वर्गमिटर क्षेत्रफलको जग्गा २० वर्षलाई भाडामा लिइएको छ । उक्त अवधिपछि आपसी सहमतिमा सम्झौताको अवधि बढाइने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रमपछि भएको भेटमा सचिव मोहम्मद विन नासिरले नेपाललगायत सम्पूर्ण मुलुकसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको र नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताउनुभयो । सो अवसरमा उहाँहरुले नेपाल ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटनलगायत क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानुपर्ने धारणा राख्नुभयो ।

खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ । क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ । समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति शान्तिप्रेमी राष्ट्रका रूपमा छ । ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यापारिक मार्गसँग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि ऊसँगको दीर्घकालीन सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले महत्वपूर्ण हुने राजदूतावासले जनाएको छ ।

भवन निर्माणपछि खाडी क्षेत्रमा रहेका करीब १५ लाख नेपालीको सुरक्षा तथा स्थायित्वमा योगदान दिने विश्वास लिइएको छ । यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास ओमान हुने जनाइएको छ । उक्त हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय ओमानका तथा नेपाली दूतावासका पदाधिकारीको उपस्थिति थियो ।