काठमाडौं । काठमाडौं उपत्यकामा भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ दश गतेसम्मको निषेधाज्ञालाई सात दिने थप गर्न सिफारिस गर्ने निर्णय गरेका हुन् ।
उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले दश गतेसम्मको निषेधाज्ञा लम्बाउने कायम राख्ने निर्णय गर्दै सिफारिस गृहमन्त्रालयमा पठाएको हो । सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ सत्र गते राति १२ बजेसम्म निषेधाज्ञा कायम हुनेछ । उपत्यकामा संक्रमण बढदै गएको निस्कर्ष सहित निषेधाज्ञा थप गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र निषेधाज्ञा थप गर्ने निस्कर्षमा पुगेको हो ।
यसअघि भदौ तीन गतेदेखि उपत्यकामा निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि रोकिएका छन् । दैनिक उपभोग्य बस्तु खरिदका लागि भने विहान सात बजेदेखि सबा नौ बजेसम्म पसल सञ्चालनको अनुमति दिइएको छ । मंगलबारसम्म कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ । केही दिनयता दैनिक दुई सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ ।