१९ बैशाख २०८१, बुधबार
Follow Us

विजयराम मृत्यु प्रकरणमा थप दुई प्रहरी निलम्बित

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०७७, मंगलवार १०:५६

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थप दुई प्रहरी निलम्बनमा परेका छन् । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको हिरासतमा मृत्युसम्बन्धी प्रकरणमा प्रदेश प्रहरी कार्यालयले हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंहलाई निलम्बन गरेको हो ।

हिरासतमा मृत्यु प्रकरणमा प्रहरी प्रधान कार्यालयले यसअघि नै प्रहरी निरीक्षक नविन सिंहलाई निलम्बन गरिसकेको छ । घटनाको छानबिन भइरहेकोले छानबिन पूरा नभएसम्म तीनै जनालाई निलम्बन गरिएको हो ।

हिरासतमा रहेका बिजयलाई सोधपुछ गर्ने क्रममा प्रहरी निरीक्षक सिंहलगायत दुईजना हवल्दारले शारीरिक यातना दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रदेश प्रहरीको भनाइ छ ।

रौतहटको गरुडा नगरपालिका–८ बसविट्टी जिंगडिया बस्ने २० वर्षीय निरन्जन रामको हत्या आरोपमा प्रहरीले विजयसहित सात जनालाई पक्राउ गरेको थियो । विजयको उपचारको क्रममा वीरगंजस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

प्रहरी नियन्त्रणमा रहेको बेला मृत्यु भएपछि घटनाको छानविनका लागि समिति समेत गठन भएको छ । सोही घटनामा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो प्रदेश प्रहरी कार्यालय तानिएका छन् ।