२५ बैशाख २०८१, मंगलवार
Follow Us

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७७, बिहीबार १२:४९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराउनुभएको थियो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयअनुसार नै सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारको तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाईसमेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।

यसअघि सिफारिशसहित नियुक्त हुनु भएका राष्ट्रियसभा सदस्यमा डा खतिवडा, रामनारायण विडारी र बिमला राई पौडेल हुनुहुन्छ । त्यसमध्ये डा खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।