१८ बैशाख २०८१, मंगलवार
Follow Us

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय

नेपालब्रिटेन संवाददाता
११ आश्विन २०७७, आईतवार ११:४१

काठमाडौं । कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा डा. दीपक भण्डारी नियुक्त भएका छन् । आइतबार बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई नार्कको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको महिला बालबालिका मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

भण्डारी यसअघि नार्ककै निमित्त कार्यकारीको पदमा थिए । ६ महिनाभन्दा बढी कायम मुकायम हुन नसक्ने भएकाले सरकारले भण्डारीलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । त्यसअघि कार्यकारी निर्देशकको छनौट गर्न कृषि तथा पशुपंक्षी मन्त्रालयले मन्त्रालयका सचिव राजेन्द्र भारीको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको थियो ।

खुला प्रतिस्पर्धाका लागि दर्खास्त आव्हान गरेका १२ जनाभन्दा प्रतिस्पर्धीबाट छनौट समितिले केशव कोइराला, युगनाथ घिमिरे र डा. दीपक भण्डारीको नाम आइतबारै कृषि मन्त्री घनश्याम भूसाललाई सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये भण्डारी कार्यकारी निर्देशक बनेका हुन् ।

त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यलाई अख्तियारी दिएको छ । बैठकमा कुनै बिशेष एजेण्डामा छलफल नभएको मन्त्री गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक अघि आइतबार नै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । मन्त्रिपरिषद् पुनः गठनबारे ओली–दाहालबीच केही दिनयता लगातार छलफल हुँदै आएको छ ।