२६ बैशाख २०८१, बुधबार
Follow Us

देशभर थपिए ३६३७ जना कोरोना संक्रमित, थप २१ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७७, बिहीबार १२:१५

काठमाडौं । बिहीबार कोरोना भाइरसका ३ हजार ६३७ जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार २२५ पीसीआर परीक्षण गर्दा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५१९ पुगेको छ । बिहीबार सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

गौतमका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा जना बसेका छन् । सक्रिय संक्रमितहरु बढ्दै जाँदा उपचारको चाप थेगिनसक्नु भएको छ । अस्पतालहरुमा उपचार सेवा नपाउने भएपछि होम आइसोलेसनमा बस्नेहरुको संख्या निरन्तर बढ्दै गएको छ । बिहीबार देशभरबाट ३ हजार २१५ जना संक्रमण मुक्त भएका छन् । यसँगै संक्रमण मुक्त हुनेको संख्या पनि १ लाख नाघेको छ । अर्थात, बिहीबारसम्म १ लाख २ हजार ८२० जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमण संख्याको ६९.२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप २१ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको छ ।

उपत्यकामा १ हजार ५५२ जनामा संक्रमण
काठमाडौं उपत्यकामा बिहीबार १ हजार ५५२ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठमाडौंमा मात्रै १ हजार २८३ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा १५७ जना र भक्तपुरमा ११२ जनालाई संक्रमण भएको छ । यससँगै काठमाडौं उपत्यकामा हालसम्म ६४ हजार ५८६ जनामा संक्रमण भएको छ ।