३० बैशाख २०८१, आईतवार
Follow Us

प्रधानमन्त्रीको सन्देश बोकेर पोखरेल दाहालसमक्ष

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७७, मंगलवार ०९:००

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका नेताले पार्टी भित्रको विवाद समाधान गर्नका लागि प्रयास जारी राखेका छन् । सोही क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा छलफल गरेका छन् ।

तत्काल बैठक बोलाउनुभन्दा असहमतिका विषयमा समझदारी कायम गर्न ओलीले दाहाल समक्ष प्रस्ताव गरेका छन् । २६ भदौको स्थायी कमिटीको निर्णयानुसार पार्टीभित्र देखिएको विवाद समाधान गर्नुपर्ने प्रस्ताव पनि पोखरेलले राखेको बताइएको छ ।

दाहालले कार्यकारी अधिकार प्रयोग गर्दै सचिवालय बैठक बोलाउने तयारी गरेपछि त्यसलाई रोक्न प्रधानमन्त्री केपी ओली पक्षले पहल थालेका हुन् । सोमबार महासचिव विष्णु पौडेलले पनि दाहालसँग छलफल गरेका थिए । सोमबार महासचिव पौडेलले समेत ओलीका तर्फबाट ठोस प्रस्ताव नल्याएपछि दाहालले सचिवालय बैठकको तयारी गरेका छन् ।

शनिबार अध्यक्ष दाहालसहित बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेटेर लिखित रूपमै बैठकको माग गरेका थिए । उनीहरूले ४८ घण्टाभित्र बैठक बोलाउन वा बैठकका लागि सहमति दिन भनेका थिए । तर ओलीले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।