२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल प्रहरीमा थपियो एक एआईजी र पाँच डीआईजीको दरबन्दी

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०७७, बिहीबार ११:३०

काठमाडौँ। नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक ( एआईजी र पाँच जना नायब महानिरीक्षक( डीआइजीको दरबन्दी थप भएको छ।

गृह मन्त्रालय स्रोतका अनुसार एक जना एआईजी र पाँच जना डीआईजीको दरबन्दी थप गर्न ‘ओएण्डएम’ स्वीकृत भएको छ। स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयमा पनि एआईजी राख्ने निर्णय भएको हो । यसअघि एआईजीको दरबन्दी घटाएर तीनमा झारिएको थियो। यसैगरी डिआईजीको दरबन्दी अब १९ पुगेको छ।

दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह-सचिव थानेश्वर गौतमले बताए । हाल एआईजी बढुवा प्रतिष्पर्धाका लागि रानीपोखरीमा रहेका डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन् ।

उनीहरुमध्ये पोखरेलले यसअघि पनि एआईजीमा बढुवाका लागि दाबेदारी प्रस्तुत गरेका थिए । तर, अन्तिम समयमा सरकारले हालकै महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको थियो ।

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।