२९ बैशाख २०८१, शनिबार
Follow Us

कोरोनाविरुद्धको खोप शीघ्र उपलब्ध हुनेछः प्रधानमन्त्री

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार ०४:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ओलीले तीनै तहका सरकार स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त भई लागेको पनि दावि गरेका छन् ।

नेपाल महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि नै प्रहार गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा सरकारले नसहने पनि स्पष्ट पारेका छन् ।

आफ्नो हकको उपभोग गर्दा अर्काको हकको सम्मान गर्नुपर्ने कुरा मानवअधिकारको सबैभन्दा प्राथमिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य हुने र यस्ता कार्य मानवअधिकारविरुद्धका दण्डनीय हुने पनि उल्लेख गरेका छन् ।