विश्व कीर्तिमानी डा. उपाध्याय ‘अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा
काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय ‘अमेरिका बुक अफ रेकर्ड्स’को ‘हल अफ फेम’मा समावेश हुनुभएको छ । ‘अमेरिका बुक अफ रेकर्ड्स’ले उहाँलाई गीत-संगीत तथा साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘हल अफ फेम’मा समावेश गरेको हो ।
कुनै क्षेत्रमा असाधारण योगदान र सफलता हासिल गरेका व्यक्तिहरूलाई विशेष रूपमा सम्मान गरेर राखिने सूचीलाई ‘हल अफ फेम’ भनिन्छ । अमेरिका बुक अफ रेकर्ड्सले जारी गरेको आधिकारिक प्रेस विज्ञप्तिमा डा. उपाध्यायलाई उक्त उपाधि प्रदान गरिएको जनाइएको छ ।
प्रमाणपत्रमा गीत लेखन क्षेत्रमा उहाँको उल्लेखनीय उपलब्धि, समर्पण तथा विशिष्ट योगदानको कदरस्वरूप ‘हल अफ फेम’मा समावेश गरिएको उल्लेख गरिएको छ । अमेरिका बुक अफ रेकर्ड्सका अनुसार संस्थाले विभिन्न क्षेत्रमा विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । यसैक्रममा छनोट भएका व्यक्तिहरूमध्ये डा. उपाध्यायलाई पनि प्रतिष्ठित ‘हल अफ फेम अवार्ड’ प्रदान गरिएको हो ।
अवार्डसँगै संस्थाले डा. उपाध्यायलाई आधिकारिक प्रमाणपत्रसमेत प्रदान गरेको छ । प्रमाणपत्रमा अवार्डसम्बन्धी दाबी कोड उल्लेख छ । संस्थाका तर्फबाट डेनिस लोपेजले प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
नेपाली गीतसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय डा. उपाध्यायका लागि यो अन्तर्राष्ट्रिय सम्मान थप उपलब्धिका रूपमा रहेको छ । यसले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनसमेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गीत-संगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उहाँको पछिल्लो उपन्यास ‘आशक्ति’ र कवितासंग्रह कवितासंग्रह ‘अन्तसंस्करण’ रहेको छ ।
समाजशास्त्रमा सन् २०००मा विद्यावारिधि गर्नुभएका उपाध्यायलाई विश्वका विभिन्न दश विश्वविद्यालयले मानार्थ डाक्टरको उपाधि पनि दिएका छन् ।

