४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

सर्वोच्चको आदेशले ड्याम्म टाउकोमा हानेजस्तो भाछ: प्रचण्ड

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७७, बिहीबार ०५:०७

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको आदेशप्रति आफूहरु खुशी नभएको बताएका छन् । अदालतको आदेश मान्नुुपर्ने बाध्यताले पार्टी जेठ २ गतेकै स्थितिमा पुगेको भन्दै प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनाको मुख्य लडाई भने जित भएको बताए ।

सिन्धुलीमा आइपुगेका प्रचण्डले संसद पुनःस्थापनापछि केपी ओली भने छट्पटाइरहेको बेला सर्वोच्च अदालतको आदेशले नेकपा बन्नुअघिकै स्थितिमा पुर्याइदिएको समीक्षा सुनाए ।

सिन्धुलीको मुलकोटमा कार्यकर्ताहरुसित उनले भने, ‘केपी ओली नराम्ररी पछारिएर छट्पटाइरहेको थियो, हामी जितियो भनेर रिल्याक्स गरिरहेका थियौं । त्यसैबेला फेरि सर्वोच्च अदालतले पार्टी फुटाइदियो ।’

अदालतको आदेशले पार्टी फुटाइदिएपछि विजयोत्सव निरासामा परिणत भएको अनुभव पनि उनले सुनाए । उनले भने, ‘अदालतको आदेशले हामीलाई फेरि एकपटक टाउकोमा ड्याम्म हाने जस्तो भाछ ।’

कार्यकर्तालाई जनयुद्धताका विजय र पराजयको अनुभवसमेत प्रचण्डले यसरी सुनाए, ‘जनयुद्धमा युद्ध जितेर नाच्दै हिडेका बेला दुस्मनले घेरा हालेर आक्रमण गर्दा नराम्रो क्षति हुन्थ्यो । हारेपछि बसेर राम्ररी समीक्षा गरिन्थ्यो, फेरि जितिन्थ्यो । जितेपछि रिल्याक्स गर्यो, हारिहाल्ने ।’

मुख्य लडाई आफूहरुले जितेको भन्दै प्रण्डले आफूहरु अब माओवादी केन्द्र भएको समेत सनाए । उनले सर्वोच्चको आदेशपछि पार्टी पुनः व्यूँतिएको र देशभरका नेता कार्यकर्तामा कुनै निरासा नभएको आफूले पाएको बताए ।