४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

आजदेखि गैँडा गणना शुरु

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०७७, सोमबार ०५:०५

काठमाडौं । नेपालमा तोकिएको समयभन्दा करिब दुई वर्षपछि आजबाट विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना शुरु हुने भएको छ । गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणनाको शुरुवात गर्ने कार्यक्रम रहेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरु हुनेछ ।

गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो । चितवन र पर्सामा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गते र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना शुरु हुने बताइएको छ ।

चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

पाँच–पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना संक्रमण र त्यसअघिको वर्ष बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो । गणनाका लागि हात्ती र गणकहरु छनोटको काम भैसकेको र उनीहरुलाई आवश्यक तालिमसमेत दिइएको बताइएको छ ।

गणनामा ६० वटा हात्ती र मानवीय जनशक्ति परिचालित हुनेछन् । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्नेछन् ।

गणनाका लागि दूरबिन र क्यामेराको पनि प्रयोग हुनेछ । यसपटक हुन लागेको गणनाले गैँडाको वास्तविक अवस्था, गैँडाको संख्या, प्रजनन् अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन सहज हुने विश्वास लिइएको छ ।