१८ बैशाख २०८१, मंगलवार
Follow Us

खाडी मुलुक हिडेका १२६ जना एअरपोर्टबाट फर्काइए

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०७८, बुधबार ०७:११

काठमाडौं । खाडी मुलुक जानका लागेका १२६ जना नेपाली र भारतीय कामदार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फर्काइएका छन । कोरोना परीक्षणको नक्कली पिसिआर रिपोर्टका कारण कामदारहरु फर्काइएका हुन ।

काठमाडौंको सिनामंगलस्थित सुरिया हेल्थ केयर प्रा.लि.बाट जारी भएका सबै पिसिआर रिपोर्ट नक्कली देखिएपछि रोजगारीका लागि खाडी मुलुक जान लागेका सबै १२६ जना नेपाली र भारतीय कामदारहलाई फिर्ता पठाइएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

ती सबै कामदारहरु आज विहान एअर अरेबिया र एअर जर्जियाका विमानबाट साउदी, दुबईलगायतका खाडी मुलुक जान लागेका थिए । यसअघि मंगलबार प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउने सुरिया हेल्थ केयर प्रा.लि. का चिकित्सक सहित ८ जनालाई पक्राउ गरेको थियो ।

कोभिड–१९ परिक्षणको अनुमती लिएको उक्त ल्याबका व्यवस्थापन प्रमुख समेत रहेका डा. खेलानन्द प्रसाद सिंह, सिनामंगलमा मेडिकल संचालन गरेर बस्ने चित्रबहादुर रायमाझी उर्फ प्रकाश र सप्तरी घर भएका प्रमोद कुमार यादव सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

एजेन्ट, ल्याब टेक्निसियन र चिकित्सक मिलेर प्रतिव्यक्ति ९ हजार रुपैयाँमा पिसिआर रिपोर्ट बेच्ने गरेको प्रहरी अनुशन्धानबाट खुलेको छ ।