२१ जेष्ठ २०८१, सोमबार
Follow Us

प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सहयोग गर्न सकिन्नः सभापति देउवा

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०७८, बुधबार १५:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी नेता कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुधबार भेट भएको छ ।

‘सौहार्दपूर्ण वातावरणमा छलफल भयो, छलफलमा प्रधानमन्त्री ओलीले आउँदो बैशाख २७ गते संसदबाट विश्वासको मत लिँदैछु, त्यसमा सहयोग गर्न आग्रह गरे’ सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘प्रमुख प्रतिपक्षी दल हुनुको नाता र प्रधानमन्त्रीले देखाएको व्यवहारले गर्दा विश्वासको मतमा कांग्रेसले सहयोग गर्न सक्दैन भन्ने जवाफ दिइयो ।’

झन्डै ३ घन्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले सुरुमै ‘विश्वासको मत म लिइदै छु, कांग्रेसको सहयोगका अपेक्षा गर्छु’ भनेका थिए । सभापति शेरबहादुर देउवाले ‘प्रमुख प्रतिपक्षी दल हुनुको नाता र सरकारको व्यवहारलाई विश्लेषण गर्दा सहयोग गर्ने ठाउँ छैन भनी जवाफ फर्काएका थिए ।

बुढानिलकण्ठस्थित देउवा निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल भएको छ । देउवालाई भेट्न प्रधानमन्त्री ओलीसहित एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बुढानिलकण्ठ जानुभएको थियो ।

भेटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायत सहभागी हुनुभएको थियो ।