ताजा खबर

बेलायतबाट खोप पठाउन एनआरएनए यूकेले पहल गर्ने

लन्डन । पछिल्ला दिनमा नेपालमा कोभिड संक्रमण भयावह बन्दै गए पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा खोप पठाउन बेलायत सरकारको ध्यानार्कण गराउने भएको छ ।

संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा आइतबार साँझ सम्पन्न विशेष बैठकले नेपालमा सहयोग अत्यावश्यक बनेको निष्कर्षसहित सहयोगमा जुट्ने निर्णय गरेको हो ।

बेलायतको स्थानीय निकायमा निर्वाचित नेपाली तथा गैरनेपाली काउन्सिलर, मेयर तथा सांसदहरुसंग संवाद गर्दै नेपाली राजदूतावास लन्डन समेतको सहकार्यमा नेपालमा यथासक्य खोप सहयोग उपलब्ध गराउन बेलायत सरकारलाई अनुरोध एवम् पहल गर्ने निर्णय बैठकले गरेको छ ।

महासचिव फडिन्द्र भट्टराईका अनुसार एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदले नेपालमा कोभिड- १९ को समस्यामा तत्काल उपयोगी हुनेगरी कमसेकम १ सय थान अक्सिजन कन्सन्ट्रेटर मेसिन उपलब्ध गराउन लागेकोको उक्त कोषमा एनआरएनए यूकेको तर्फबाट ५ लाख रुपैया सहयोग गर्ने निर्णय भएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढ्दै गइरहंदा बेलायतका विभिन्न नेपाली संघसंस्था तथा समुदायलाई नेपालमा आ(आफ्नो क्षेत्र अथवा प्रदेशमा स्थानीय रुपमा अक्सिजन तथा स्वास्थ्यसहित अन्य क्षेत्रमा आवश्यक सामग्री र सहयोग उपलब्ध गराउन आव्हान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कुनै संघसंस्था वा व्यक्तिहरुले नेपालमा सहयोग गर्न चाहेको अवस्थामा एनआरएनए यूके तथा संघको स्वास्थ्य विभागमार्फत् आवश्यक समन्वय र संयोजनको लागि पहल गरिने भएको छ ।

नेपालका संक्रमितहरुलाई लक्षित गर्दै बेलायतस्थित नेपाली डाक्टरहरुसंगको समन्वयमा एनआरएनएनए यूकेले टेलिफोन तथा भर्चुअल सचेतना र परामर्श लगायतका सहयोगहरु उपलब्ध गराउने कोशिश् गर्ने निर्णय गरिएको छ । जसको संयोजनको जिम्मेवारी एनआरएनए यूकेका स्वास्थ्य विभाग संयोजक डा सुनिल साहलाई प्रदान गरिएको छ ।

बैठकमा कार्यसमितिका पदाधिकरी र सदस्यहरुसहित २१ जनाको सहभागिता थियो । गत वर्ष महामारी शुरु भएलगत्तै पनि एनआरएनए यूकेले नेपालका सात वटै प्रदेशमा अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग पठाएको थियो ।

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्