२१ बैशाख २०८१, शुक्रबार
Follow Us

देउवालाई सरकार जोगाउन माधव नेपाल पक्षका ८ सांसदको साथ आवश्यक

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७८, आईतवार ११:५६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर सरकारको आयु सुनिश्चित गर्ने योजनामा बनाएका छन् । प्रधानमन्त्री देउवालाई विश्वासतको मत लिनका लागि नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षका कम्तिमा ८ जना सांसदको साथ आवश्यक देखिन्छ ।

देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ । कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् ।

जसपाका उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षको भनाई छ । त्यसैले प्रस्तावको पक्षमा १२७ सांसद रहेका छन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल पनि गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए मात्रै देउवाको सरकार जोगिने बुझिन्छ । माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भैसकेको र आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानबमोजिम विश्वासको मत लिने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेको भनाई छ । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् ।