काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित पार्न गृहकार्य सुरु गरेको छ । बुधबार पेरिसडाँडामा बसेको माअेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेसे भएको हो । उक्त योजना बैठकले स्वीकार गरेको नेता देवप्रसाद गुरुङले जानकारी दिए ।
त्यस्तै विभिन्न समयमा भएका पार्टी एकताका आधारमा संगठनमा समेट्न छुटेका नेताहरुको समायोजनाका लागि गठित कार्यदलले सुझाव पेस गरेको र कार्यान्वयनमा लैजाने निर्णय भएको नेता गुरुङले बताए ।
पार्टीको स्कुल विभागसम्बन्धी व्यवस्थाका बारेमा केही योजनाहरु बैठकमा पेस भएको र अध्ययन गरेर टुङ्गो लगाउने निर्णय भएको उनले बताए ।
त्यस्तै, सरकार गठनका बारेमा गठबन्धनबीच छलफल गरेर आवश्यक निर्णयमा पुग्ने र त्यसैका आधारमा पार्टीले नाम पठाउने गुरुङले बताए । गुरुङले एमालेले सदन अवरुद्ध गरेको अवस्थामा विपक्षीसँग सरकारको तर्फबाट छलफल गरेर संसद्को प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले छिट्टै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिमण्डललाई पूर्णता दिने तयारी भएको बताएका थिए ।