काठमाण्डौं । नेकपा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गर्दै सरकार निर्माणका लागि पहल बढाएको छ।
बिहीबार एमाले र माओवादी केन्द्रका दोस्रो तहका नेताबीच सरकार निर्माणबारे छलफल भएको छ। एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच बानेश्वरस्थित संसद भवनमा सरकार निर्माणबारे छलफल भएको हो।
बिहीबार मात्रै बालकोटमा बसेको एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन छाडेर आए माओवादीसँग सरकार निर्माणका लागि छलफल गर्न तयार रहने बताएका थिए।
ुसरकार निर्माणको सम्भावनाबारे एमालेले सबैसँग छलफल गर्ने निर्णय गरेको छ। त्यहीअनुसार आज वर्षमानजीसँग छलफल भएको हो,ु नेम्वाङले भने।
यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेलले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सँग भेट गर्दै सरकार निर्माणबारे छलफल गरेका थिए। एमालेले माओवादीलाई प्रधानमन्त्री दिएर राष्ट्रपति आफूले राख्न चाहेको छ।
बिहीबार नै सांसदहरूको शपथ ग्रहणपछि ओली र प्रचण्डबीच संसद भवनमा भेट भएको थियो। प्रचण्डसामु ओली र नेम्वाङ सँगै गएका थिए। तर प्रचण्डको छेउमा एउटा मात्रै कुर्सी खाली भएपछि नेम्वाङ ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको छेउमा बस्न पुगे।