काठमाडौं । भिक्टोरिया क्रस विजेता (भिसी) क्या. रामबहादुर बेघाको निधन भएको छ । बेघाको आज बिहान ३ः ४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
अस्वस्थाका कारण बिगत ६ महिनादेखि झापास्थित बिएनसी अस्पतालमा स्वास्थ्य उपचार गराउदै आएका ८८ वर्षीय लिम्बु बिगत ३ महिनादेखि ललितपुरको मेडिसिटी हस्पिटलमा उपचाररत थिए । ‘
लिम्बुको अन्त्येष्टि दमकमा गरिने तर काठमडौंबाट कहिले लैजाने भन्ने आज बेलुकासम्म टुङ्गो लाग्ने उछ ।
लिम्बुका श्रीमती, चार छोराबुहारी र नातानातिना छन् । जसमा बेघाको जेठा छोरा क्याप्टेन भक्तबहादुर बेघा लिम्बुको २०७८ असोजमा कोभिड–१९ कारण निधन भएको थियो । जेठा छोराको श्रीमती र २ छोरी छन् भने माइला छोराबुहारीका २ वटा छोरी, साइला छोराबुहारीको २ दुई छोरी १ छोरा र कान्छा छोराबुहारीको २ छोरी छन् ।
को हुन् भिसी क्या. रामबहादुर लिम्बु बेघा ?
हाल याङवरक गाउँपालिका १ मा पर्ने च्याङ्थापुमा १९९२ साउन २१ गते जन्मिएका लिम्बु २२ वर्षको उमेरमा गोर्खा सैनिकमा भर्ना भएका थिए । पाँचथरबाट २२ जनाबाट ७ जना छनौट हुँदा उनी पनि परेका थिए । भैरहवा नजिकको पक्लीहवाबाट बेलायती गोर्खा सैनिक छनौट लिम्बु सैनिकमा प्रवेश गरेपछि ‘टेन्थ प्रिन्सेस मेरिज ओन गोर्खा राइफल्सको सेकन्ड बटालियन’मा जोडिए ।
सन् १८९० मा निर्माण गरिएको राइफल्स सन् १९६० को दशकमा मलेसियन संकटकाल र इन्डोनेसियन भिडन्तमा सहभागी भएको थियो । १९५७ मा यो राइफल्समा प्रवेश पाएका लिम्बु पनि त्यो बेला मलाया भनिने मलेसियाको संकटकाल र इन्डोनेसियासँगको युद्धमा सहभागी भए ।
त्यही युद्धमा देखाएको बहादुरीका कारण लिम्बुले ‘भिक्टोरिया क्रस’ पदक पाए । उनले बेलायती राजतन्त्रको आवासीय र प्रशासनिक क्षेत्र बकिङ्घम प्यालेसमा गएर एलिजावेथ सेकेन्डबाट पदक थापेका थिए ।