१७ भाद्र २०८२, मंगलवार
Follow Us

ललिता निवास जग्गा प्रकरणमा चार पूर्वमन्त्री र बहालवाला सचिवसहित २८९ जना विरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८०, आईतवार १३:१३

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा २८९ जनाविरुद्ध सरकारी लिखत कीर्तेको कसूरमा मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले आज चार पूर्वमन्त्री एक बाहालवाला सचिव सहित २८९ जनालाई काठमाडौं जिल्ला अदालतमा किर्तेको कसुरमा मुद्दा चलाइएको हो ।

मुद्दा चलाइएका मध्ये ५२ जना किर्तेमा संलग्न नदेखिएपनि जग्गा फिर्ता लिने प्रयोजनका लागि सोही कसुरमा प्रतिवादी बनाइएको छ ।

प्रतिवादीहरुलाई मुलुकी ऐन किर्ते कागजातको महल बमोजिम १ र २ नम्बरको कसुरमा ७,९ र १२ नम्बर बमोजिम सजाय हुन र ब्यक्तिका नाममा कायम भएको नेपाल सरकारको जग्गा नेपाल सरकारलाई फिर्ता दिलाइ दिन माग दावी दिएर मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दिएको रायसहितको प्रतिवेदनका आधारमा प्रतिवादीसँग १८ अर्ब बिगो दाबी गरिएको पनि न्यायाधिवक्ता खत्रीले बताए ।

प्रतिवादी बनाइएका पूर्व मन्त्रीहरुमा तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा तत्कालीन भौतिक पूर्वाधार राज्यमन्त्री सञ्जय साह रहेका छन् ।

बहालवाला सञ्चार सचिव कृष्णबहादुर राउत र गृहमन्त्रालयका सहसचिव सुशील वैद्यमाथि पनि किर्तेको अभियोगमा मुद्दा चलाइएको छ । ५० दिन भन्दा बढीको अनुसन्धानपछि गत भदौ ५ गते सीआईबीले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

धेरै पढिएको